देश बनाउनका लागि धोती र टोपी मिल्नुको विकल्प छैन : राजेन्द्र महतो

राष्ट्रिय मुक्ति क्रान्तीका संयोजक राजेन्द्र महतोले धोती र टोपी एक नभएसम्म देश नबन्ने बताएका छन्। सर्लाहीको लालबन्दीमा चुरे शिवालिक बिशेष व्युरोले शनिबार आयोजना गरेको मधेसी पहाडी एकता सभालाई सम्बोधन गर्दै महतोले देश एकल जातीय चिन्तनले ग्रसित बनेको बताए। 

'देश बनाउनका लागि धोती र टोपी मिल्नुको विकल्प छैन। धोती र टोपीबीचको लडाइँले गर्दा देश बर्बाद भएको हो। मधेसी र पहाडीलाई एक आपसमा लडाएर एकल नश्लिय चिन्तनले देशलाई बदनाम गरेको छ,' उनले भने।
 

देश योभन्दा बढी खराब हुन नसक्ने उनको भनाइ छ। 'सिंहदरबारमा बस्ने शासकले देशलाई दुनियासामु बदनाम गरायो। पृथ्वीनारायण शाहले एकीकरण गरेको देशलाई सिंहदरबारमा बस्ने शासकले तोड्ने काम गर्‍यो। सबै जात, भाषा, धर्म र संस्कृत मिलेर सुन्दर नेपाल बनेको हो। नेपाल सबै जात र वर्गको साँझा फूलबारी हो। तर, एकल चिन्तन भएकाहरूलाई देशको चिन्ता नहुदाँ आज देश बर्बाद भएको छ,' उनले भने।
 
अहिलेको शासकले सत्ता र कुर्सीका लागि जात र धर्मको नाममा एक अर्कालाई लडाउँदै आएको उनले आरोप लगाए। 'आफ्नो पहिचान, अधिकार र सम्मानको आन्दोलन गर्दा गोली चलाएर दबाउने काम गरेको छ। मधेसी र पहाडी एउटै देशको नागरिक हो। तर, मधेसीलाई विदेशी भनेर फरक व्यवहार गर्दै आएको छ,' उनले भने।

धोती र टोपी मिलेर एकल जातिय सत्ताधारीलाई हटाउन जरुरी रहेको महतोले बताए। 'नेपाल बनेपछि मधेसी, थारु, मगर, नेवार, तामाङ, दलित, मुस्लिम आएको होइन, यो त सबैको योगदानले नेपाल बनेको हो,' उनले भने।