लोकतन्त्रलाई सदृढ गर्न सूचनाको हकका मान्यतालाई आत्मसात् गरौँः अध्यक्ष झा

काठमाडौँ, १ असारः  राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले लोकतन्त्रलाई सदृढ गर्न सूचनाको हकका मान्यतालाई आत्मसात् गर्नुपर्ने बताउनुभएको छ ।
    
धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासङ्घ कैलाली शाखाको समन्वयमा आज धनगढीमा आयोजित सूचनाको हकसम्बन्धी अभिमुखीकरण कार्यक्रममा अध्यक्ष झाले सूचनाको हकविना लोकतन्त्र सफल हुननसक्ने बताउनुभयो । “यदि लोकतन्त्र सफल बनाउने हो भने सूचनाको हकलाई पनि सफल कार्यान्वयन गर्नैपर्छ किनकि सूचनाको हक जति सुदृढ भयो, त्यति नै लोकतन्त्र पनि सफल बन्दै जान्छ”, उहाँले भन्नुयो । पछिल्ला दिनमा खोज पत्रकारिता गर्नका लागि पनि सूचनाको हक महत्वपूर्ण औजारका रूपमा रहेको उहाँको भनाइ थियो । 

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य भरत शाहले आमजनता तथा पाठकलाई सूचित गर्न सूचनाको हकका बारेमा जानकारी हुन आवश्यक रहेको बताउनुभयो ।

धनगढी उपमहानगरापालिकाका जनप्रतिनिधिले सूचनाका हकअधिकार र सूचना कसरी माग्ने भन्नेबारेमा जान्न अभिमुखीकरण उपयोगी भएको बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ, कैलाली शाखाका अध्यक्ष हिमाल जोशीले सूचनाका हकका बारेमा ग्रहण गरेका कुरा व्यावहारिक जीवनमा लागू गरेर अगाडि बढेमा सुशासन कायम गर्न सघाउ पुग्ने धारणा राख्नुभयो ।