मनाङकाे स्यार्कु जङ्गलमा आज आगलागी,जमिन भिरालो भएकाले आगो निभाउन समस्या

मनाङ जिल्लाको चामे गाउँपालिका–१ तिमाङ स्यार्कुको जङ्गलमा आज आगलागी भएको छ । आज दिउँसो करिब १ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रशरी, जनप्रतिनिधि तथा स्थानीयले निभाउने प्रयास गरे पनि अझै नियन्त्रणमा आएको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीका १५ जना, सशस्त्र प्रहरी, जनप्रतिनिधि, स्थानीयलगायको पहलमा आगो निभाउने कार्य भइरहेको छ ।

प्रनाउ भने, “भिरालो क्षेत्र भएकाले सहजै आगो निभाउन समस्या भएको हो । जिल्लाका सुरक्षा निकायको सहयोगमा आगो बस्तीसम्म पुग्न नदिन निभाउने प्रयास भइरहेको छ ।” उक्त क्षेत्रमा फोन सम्पर्कसमेत नहुँदा समस्या भएको उनले बताए ।

डिभिजन वन कार्यालयका प्रमुख अरुण पराजुलीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको क्षेत्रअन्तर्गतको जङ्गलमा आगलागी भएको जानकारी दिए । उनका अनुसार आगलागी भएको क्षेत्रमा प्राविधिकसहित सुरक्षा कर्मीको टोलीले आगो नियन्त्रणमा दिने प्रयास गरिरहेका छन् ।

“अहिले जङ्गलमा मात्रै आगलागी भएको छ । जङ्गलको वरिपरि बस्ती भएकाले समयमा नै आगो निभाउन सकिएन भने बस्तीसम्म पुग्ने सम्भावना छ”, पराजुलीले भने, “भिरालो क्षेत्र भएकाले समस्या भइरहेको छ ।” अहिलेसम्म कति क्षेत्रफलमा आगलागी भएको छ भन्ने आँकलन गर्न नसकिएको उनले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले आगो निभाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पहल गरिरहेका जानकारी दिए । उनका अनुसार आगो अझै बढ्ने सम्भावना भएमा नेपाली सेनासमेत परिचालन गर्ने भएकाले तयारी अवस्थामा राखिएको छ ।