वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

गण्डकीको किचलो झनझन गिजोलिँदै, विवाद फेरि अदालत जाने

गण्डकी प्रदेश सरकारले विवादमा रेकर्ड कायम गर्ने भएको छ। तीन महिनामै तीन मुद्दा सर्वाेच्च अदालत पुग्ने भएको छ। यसअघि सर्वाेच्च अदालतमा दुई मुद्दा परेका थिए, ती मुद्दामा छिनोफानो भएको थियो।

तर, अब फेरि अर्काे मुद्दा जाने भएको हो। गण्डकी प्रदेशसभा सदस्यबाट माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध फणीन्द्र देवकोटा अदालत जाने भएका हुन्।  माओवादीको कारबाहीपछि शुक्रबार नै पत्रकार सम्मेलन गरेर देवकोटाले कागजात मिलाएर सकेपछि कारबाहीविरुद्ध अदालत जाने बताए। 

माओवादीको कारबाही असंवैधानिक र गैरकानुनी भएको, राजनीतिक प्रतिशोध साँधिएको उनको भनाइ छ । आफ्नो दल नेसपा भएकाले माओवादीले कारबाही गर्न नमिल्ने उनको दाबी छ। 

मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिने क्रममा पर्टीको ह्विप उल्लंघन गरेको भन्दै उनलाई शुक्रबार सांसदबाट पदमुक्त गरिएको थियो।  

https://barnanmedia.com/news/detail/179105/

परराष्ट्रमन्त्रीबाट नारायणकाजी श्रेष्ठ आउट हुने निश्चित, छटपटी सुरू

परराष्ट्रमन्त्री पदबाट नारायणकाजी श्रेष्ठ आउट हुने लगभग पक्का भएको छ । प्रचण्ड प्रधानमन्त्री भएपछि सुरुमा भौतिक पूर्वाधार मन्त्री भएका श्रेष्ठलाई रवि लामिछाने नागरिकता प्रकरणमा बाहिरिनुपरेपछि गृहमन्त्रीको चिट्ठा परेको थियो । रविलाई फेरि भित्र्याउनुपरेपछि गत फागुनबाट श्रेष्ठलाई परराष्ट्रको जिम्मेवारी दिइएको थियो । 

त्यसो त माओवादी र एमालेबीच भागबन्डा हुँदा परराष्ट्र मन्त्रालय एमालेको भागमा परेको थियो । तर श्रेष्ठ सरकारबाहिर हुँदा गठबन्धनको वातावरण बिगार्न सक्ने ठानेर एमाले अध्यक्ष केपी शर्मा ओलीले उदारता देखाएर उनका लागि छाडिदिएका थिए । अब भने जनमत पार्टीलाई भाग पुर्‍याउनुपर्ने भएकाले श्रेष्ठलगायत माओवादीको पुरानो टोलीका सबै मन्त्री फिर्ता गराउने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् ।

https://barnanmedia.com/news/detail/179115/

टी-२० विश्वकप : दक्षिण अफ्रिकाकाे जितकाे भन्दा नेपालकाे हारकाे बढि चर्चा

 टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज आफ्नो महत्त्वपूर्ण खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरे पनि सामाजिक सञ्जालमा नेपाली टोलीको प्रशंसा भइरहेको छ । विश्वकप उपाधिकै प्रबल दाबेदारमध्ये एक रहेको टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग नेपाल १ रनले हार्न पुगेको थियो ।

योसँगै सुपर ८ मा पुग्ने तथा टी-२० विश्वकप २०२६ मा सिधै छनोट हुने अवसर नेपालले गुमाएको छ । तर नेपालले बहादुरीपूर्ण खेल देखाएको भन्दै विश्वभरबाट चर्चा भइरहेको छ । अहिले फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जाल नेपालको खेलसम्बन्धी पाेस्टले भरिएका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालले गर्व गर्न लायक प्रदर्शन गरेकाे भन्दै नेपाल क्रिकेट संघ (क्यान)लाई मेन्सन गरी शिर उँचो बनाउन हाैसला दिएकाे छ । साथै खेल दक्षिण अफ्रिकाले जिते पनि मन नेपालले जितेको भन्दै तारिफ गरेकाे छ । 

नेपालबाट विदेश जाने लहर , करोडौँ खर्चिएर पढेका पाइलट पनि विदेशीदै

पछिल्लो समय नेपालमा विदेश जाने लहर नै चलेको छ । मध्यमवर्गका युवापुस्ता सकेसम्म अस्ट्रेलिया, अमेरिका क्यानडा वा युरोपेली मुलुक देश जाने ध्याउन्नमा हुन्छन् । निम्नवर्गीय परिवारका युवाका लागि भने विदेश जाने भनेको खाडी मुलुक नै हो ।

उच्च शिक्षा लिन चाहने वा रोजगारीको चाहनामा भौँतारिइरहेका मात्र होइन, वर्षौँदेखि देशमै सरकारी जागिर खाइरहेका मानिसको पनि अन्तिम गन्तव्य लक्ष्य बनिरहेको छ, विदेश जानु । कोही पढ्ने बहानामा त कोही जागिरको सिलसिलामा जसरी हुन्छ, देश छाड्ने क्रम दिन–प्रतिदिन बढिरहेको छ । यही देश छाड्नेको भिडमा मिसिएका छन्, नेपाली पाइलट  पनि ।

निजी क्षेत्रका एयरलाइन्सका पाइलटहरू धमाधम राजीनामा दिँदै विदेश जान थालेका छन् । बुद्ध, यती र श्री एयरलाइन्समा कार्यरत पाइलटहरू विदेशी एयरलाइन्समा काम गर्न जान थालेका हुन् । भारतको लो कस्ट एयरलाइन्स एयर इण्डिगोले यहाँ पाइरहेको पारिश्रमिकभन्दा बढी दिन थालेपछि उनीहरु बाहिरिन थालेका हुन् ।

पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई जना बेपत्ता

पौडी खेल्ने क्रममा भेरी नदीमा डुबेर दुई जना बेपत्ता भएका छ। आज (शनिबार) दिउँसो ३:४५ बजेको समयमा वीरेन्द्रनगर–२ चोक्टेस्थित भेरी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका हुन्

बेपत्ता हुनेमा कालिकोट घर भई हाल सुर्खेत वीरेन्द्रनगर–७ खजुरा बस्ने वर्ष १९ का विनोद केसी र सोही ठाउँ बस्ने वर्ष १६ का को भूपेन्द्र के।सी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए।

उनका अनुसार अत्यधिक गर्मी भएपछि उनीहरू पौडी खेल्न गएका थिए। 

सुदूरपश्चिम प्रदेश सरकारकाे बजेट साढे ३१ अर्ब

सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८१\८२ का लागि साढे ३१ अर्बको बजेट ल्याएको छ ।

शनिबार प्रदेशका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पालले प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका हुन् । पालले अगामी वर्षका लागि चालु खर्चतर्फ ११ अर्ब ७ करोड १९ लाख ६३ हजार र पुँजीगततर्फ १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार बजेट विनियोजन गरेको जानकारी दिएका छन् ।

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सप्तरीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

कंचनरूप नगरपालिका-१ बरमझियास्थित सडकमा काकरभिट्टाबाट वीरगंजतर्फ जाँदै गरेको प्र.१-०१-००१ ख ४१४१ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१ बैरवा बस्ने २७ वर्षीय उमेश मुखियाको शनिबार दिउँसो मृत्यु भएको हो।

शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन

 काठमाडौं शनिबार अधिकतम तापक्रम यो वर्षकै बढी मापन गरिएको छ।

यस दिन काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस मापन गरिएको छ। यस वर्ष मापन गरिएमध्ये यो उच्च तापक्रम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।‘काठमाडौंमा यो वर्ष यो तापक्रम अहिलेसम्म उच्च हो,’ महाशाखाका मौसमविद् मीनकुमार अर्यालले भने।

काठमाडौंमा यो वर्ष यसअघिको उच्च तापक्रम गएको जेठ २८, १७ र जेठ ११ गते समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो। 

एघार जिल्लामा एमालेको अधिवेशन गर्न बाँकी

 नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ ।पार्टीले जेठ मसान्तभित्रमा सबै जिल्लामा अधिवेशन सक्न निर्देशन दिए पनि ती जिल्लामा अझै अधिवेशन सम्पन्न हुन सको छैन । 

 

एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले निर्धारित समयमा ६६ जिल्लाका अधिवेशन सम्पन्न भइसकेको जानकारी दिनुभयो । “जेठ महिनाभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएका थियौँ, अधिवेशन गर्न बाँकी जिल्लामा प्रदेश कमिटीको समन्वयमा चाँडै समय तोकिने छ ।”    

गर्मीमा महीको व्यापार

चर्को गर्मीसँगै यहाँका दुई सहकारी संस्थाले दुधबाट मही उत्पादन गरेर बजारीकरण गरिरहेका छन् । अन्नपूर्ण र गङ्गानगर दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो नयाँ उत्पादनका रुपमा महीलाई बजारमा ल्याएका हुन् ।

 

परीक्षण स्वरुप अहिले दुवै सहकारीले दैनिक एक–एक हजार बोटल मही उत्पादन गरेर बजारमा बिक्री गर्न थालेका छन् । अन्नपूर्ण सहकारी संस्थाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी मही उत्पादन गरी बजारमा ल्याएको संस्थाका अध्यक्ष प्रदीप तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दैनिक आधा लिटर र एक लिटरका बोटलमा उत्पादन हुँदै आएको छ ।

सत्ता केन्द्रीत राजनीतिले अस्थितरता बढायोे : नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता केन्द्रीत राजनीतिले देशमा अस्थिरता बढाइरहेको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले उहाँले पछिल्लो समय सत्ता प्राप्तिका लागि गरिरहेको लगातारको उलटफेरले देशको राजनिति गम्भीर मोडमा पुगेको बताउनुभयो । नेता डा कोइरालाले सत्ताकै लागि मुलुकमा अस्थिरता उत्पन्न गराइरहने प्रवृत्तिबाट सबै पार्टीले बाहिर आउन जरूरी रहेकामा जोड दिनुभयो । “राजनीतिक स्थिरताविना सुशासन र सुशासनविना आर्थिक विकासले गति लिन सक्दैन तर देशमा पटकपटक सरकार बदल्ने र अस्थिरता मच्चाइरहने अवस्था देखियो । यस्तो अवस्थामा जस्तो र जतिसुकै बजेट ल्याइए पनि आर्थिक विकास तथा समृद्धि हासिल गर्न सकिँदैन”, डा कोइरालाको भनाइ थियो ।

कोशी प्रदेश : ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक 

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ३५ अर्ब २७ करोड ९३ लाखको बजेट सार्वजनिक गरेको छ ।

कोशी प्रदेशको प्रदेशसभा नियमावली, २०७४ को नियम ११४(१) बमोजिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी आवका लागि राजस्व र व्ययको वार्षिक अनुमानसहितको बजेट प्रस्तुत गर्नुभएको हो । सार्वजनिक गरिएको बजेटमध्ये चालु खर्चतर्फ रु १४ अर्ब ४७ करोड २३ लाख तथा पुँजीगत खर्चतर्फ रु १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थातर्फ रु दुई करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ रु चार अर्ब ५८ करोड ५० लाख विनियोजन गरिएको छ । चालु खर्चमध्ये सङ्घीय अनुदान फिर्ता रु तीन अर्ब रहेको छ ।

अवैध लागूऔषधसहित तीन जना पक्राउ

बारा, निजगढ नगरपालिका-८ स्थित तामागढी गेटबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित मकवानपुर कैलाश गाउँपालिका-८ बस्ने २१ वर्षीय मनोज मोक्तानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ आउँदै गरेको बा.प्र-०३-००५ प ६९१९ नम्बरको मोटरसाइकलका चालक मोक्तानलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

गण्डकी प्रदेश सरकारकाे बजेट ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पूँजीगततर्फ १९ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ। 

यो चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट हो। गण्डकी प्रदेश सभामा अर्थमन्त्री डा। टकराज गुरुङले संघ सरकारबाट आउने विभिन्न शीर्षकका अनुदान रकम घटेकाले बजेटको आकार पनि घटेको जानकारी दिए। चालु आर्थिक वर्ष २०८०/०८१ का लागि गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको आय–व्यय विवरण (बजेट) पेस गरेको थियो।

नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

:नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा अल्का अस्पताल प्रालि जावलाखेलललितपुरको प्राविधिक सहयोगमा प्रहरी वृत्त कालिमाटीमा नि:शुल्क स्वास्थ्य शिविर
शनिबार सम्पन्न भएको छ ।

 

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले निस्वार्थ रूपमा सेवा दिन र स्वास्थ्य शिविर कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विशेषज्ञ चिकित्सक तथा प्राविधिकलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  सो अवसरमा संघकी अध्यक्ष कुँवरले स्वास्थ्य शिविरबाट विभिन्न स्वास्थ्य सम्बन्धि समस्या पहिचान भई स्वास्थ्य उपचार प्राप्त गरी प्रहरी कर्मचारीको व्यक्तिगत स्वास्थ्य उपचारमा थप टेवा पुग्ने विश्‍वास व्यक्त गर्नुभयो ।