टी-२० विश्वकप : दक्षिण अफ्रिकाकाे जितकाे भन्दा नेपालकाे हारकाे बढि चर्चा

 टी-२० विश्वकप क्रिकेट अन्तर्गत आज आफ्नो महत्त्वपूर्ण खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरे पनि सामाजिक सञ्जालमा नेपाली टोलीको प्रशंसा भइरहेको छ । विश्वकप उपाधिकै प्रबल दाबेदारमध्ये एक रहेको टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग नेपाल १ रनले हार्न पुगेको थियो ।

योसँगै सुपर ८ मा पुग्ने तथा टी-२० विश्वकप २०२६ मा सिधै छनोट हुने अवसर नेपालले गुमाएको छ । तर नेपालले बहादुरीपूर्ण खेल देखाएको भन्दै विश्वभरबाट चर्चा भइरहेको छ । अहिले फेसबुक, एक्स, युट्युब लगायतका सामाजिक सञ्जाल नेपालको खेलसम्बन्धी पाेस्टले भरिएका छन् । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपालले गर्व गर्न लायक प्रदर्शन गरेकाे भन्दै नेपाल क्रिकेट संघ (क्यान)लाई मेन्सन गरी शिर उँचो बनाउन हाैसला दिएकाे छ । साथै खेल दक्षिण अफ्रिकाले जिते पनि मन नेपालले जितेको भन्दै तारिफ गरेकाे छ । 

भारतीय प्रिमियर लिग (आईपीएल)को चर्चित क्रिकेट क्लब चेन्नई सुपर किंग्स (सीएसके)ले समर्थक, खेल र रात अविश्वसनीय भएको बताउँदै नेपालले मुटु जितेको लेखेको छ ।

 

त्यस्तै अर्को क्लब दिल्ली क्यापिटल्सले नेपाली टिमप्रति गर्व छ भनेर लेखेको छ ।

साथै मुम्बाई इन्डियन्सले नेपालले राम्रो खेलेको भन्दै आफ्ना प्रशंसकहरूलाई नेपालले गर्व र मनोरञ्जन दिएको बताएको छ ।

राजस्थान रोयल्सले नेपालको खेललाई संसारले पूर्ण रूपमा गर्व गर्ने लेखेकाे छ । 

क्रिकेटसम्बन्धी समाचार सम्प्रेषण गर्ने ईएसपीएन क्रिकइन्फोले नेपालका लागि गर्व गर्न लायक प्रदर्शन भनेर उल्लेख गरेको छ ।

भारतीय क्रिकेट कमेन्टेटर र पूर्वक्रिकेटर सञ्जय मांजरेकरले नेपाल अबको १० वर्षमा हेर्ने टिम हुने जनाएका छन् ।

अर्का भारतीय क्रिकेट कमेन्टेटर तथा पत्रकार हर्ष भोगलेले नेपाली खेलको प्रशंसा गर्दै शिर उँचाे राख्न आग्रह गरेका छन्  । यसका साथै उनले नेपालसँग सबैभन्दा भावुक प्रशंसक भएको र तिनले विश्वास गर्ने बताएका छन् । उनले अब ठूला दिन चाँडै आउने पनि उल्लेख गरेका छन् ।

वेल्श क्रिकेट कमेन्टेटर एलन विल्किन्सले यस खेलबाट विश्व क्रिकेटमा नेपालले आफ्नो प्रतिष्ठा बढाएको उल्लेख गरेका छन् । 

दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर तथा कमेन्टेटर डेल स्टेन र आईसीसी डिजिटल इनसाइडर एलेक्स जोर्डनले नेपालकाे खेललाई ‘द म्याच अफ द टुर्नामेन्ट’ भनेर सम्बाेधन गरेका छन् । 

विशेषत: धेरैले खेलको तारिफ गर्दै नेपाललाई ढाडस दिइरहेका छन् । सामाजिक सञ्जालमा नेपाली क्रिकेट फ्यानले भने मिश्रित प्रतिक्रिया दिइरहेका छन् । केहीले राम्रो खेल्दा खेल्दै नतिजा सुम्पिनु परेकोमा दुःख व्यक्त गरेका छन् भने केहीले मध्यक्रमका ब्याट्सम्यान सम्हालिएर नखेलेको भन्दै आलोचना गरेका छन् ।