नेपालबाट विदेश जाने लहर , करोडौँ खर्चिएर पढेका पाइलट पनि विदेशीदै

पछिल्लो समय नेपालमा विदेश जाने लहर नै चलेको छ । मध्यमवर्गका युवापुस्ता सकेसम्म अस्ट्रेलिया, अमेरिका क्यानडा वा युरोपेली मुलुक देश जाने ध्याउन्नमा हुन्छन् । निम्नवर्गीय परिवारका युवाका लागि भने विदेश जाने भनेको खाडी मुलुक नै हो ।

उच्च शिक्षा लिन चाहने वा रोजगारीको चाहनामा भौँतारिइरहेका मात्र होइन, वर्षौँदेखि देशमै सरकारी जागिर खाइरहेका मानिसको पनि अन्तिम गन्तव्य लक्ष्य बनिरहेको छ, विदेश जानु । कोही पढ्ने बहानामा त कोही जागिरको सिलसिलामा जसरी हुन्छ, देश छाड्ने क्रम दिन–प्रतिदिन बढिरहेको छ । यही देश छाड्नेको भिडमा मिसिएका छन्, नेपाली पाइलट  पनि ।

निजी क्षेत्रका एयरलाइन्सका पाइलटहरू धमाधम राजीनामा दिँदै विदेश जान थालेका छन् । बुद्ध, यती र श्री एयरलाइन्समा कार्यरत पाइलटहरू विदेशी एयरलाइन्समा काम गर्न जान थालेका हुन् । भारतको लो कस्ट एयरलाइन्स एयर इण्डिगोले यहाँ पाइरहेको पारिश्रमिकभन्दा बढी दिन थालेपछि उनीहरु बाहिरिन थालेका हुन् ।

बुद्ध एयरका आधा दर्जन वरिष्ठ पाइलट एयर इण्डिगोमा जाने तयारी गरेका छन् । बुद्ध एयरबाट यसअघि कोभिड सुरु हुनु पहिले एक दर्जनभन्दा बढी पाइलट राजीनामा दिएर बाहिरिएका थिए । यती एयरलाइन्सका केही पाइलट पनि जागिर छोड्ने तयारीमा छन् । श्री एयरलाइन्सले पनि आफ्नो कम्पनीका केही पाइलट इण्डिगोमा जाने तयारीमा जनाएको छ ।  

एयर इण्डिगोले नेपालमा पाइरहेको परिश्रमिक भन्दा ५० प्रतिशत बढी पारिश्रमिक दिएको बताइएको छ । वायु सेवा प्रदायक नेपाली कम्पनीले हाल सुगम गन्तव्यतर्फ उडान गर्दै आएका पाइलटलाई मासिक करिब ८ लाख रुपैयाँ दिने गरेका छन् । एयर इण्डिगोले मासिक १० हजार अमेरिकी डलर अर्थात् १३ लाख रुपैयाँ भन्दा बढी पारिश्रमिक दिने अफर गरेको छ । 

वायुसेवा कम्पनीहरूका अनुसार हाल मुलुकमा पाइलट अध्ययन गरेका ४५० हाराहारी युवा बेरोजगार छन् । पछिल्लो समय पाइलट पढ्नका लागि विदेश जाने गरेका छन् । नेपालमा पढाइ नहुने भएपछि युवाहरू पाइलट पढ्नका लागि अमेरिका, फिलिपिन्स, दक्षिण अफ्रिका, थाइल्यान्ड, अर्जेन्टिना र न्यूजिल्याण्डसम्म पुग्ने गरेका छन् । 

युवाको पाइलटप्रतिको आकर्षण बढे पनि यसको नेपाली बजार भने साँघुरिएको छ । पाइलट पढाइलाई प्रतिष्ठित पेसाको रूपमा लिने गरिन्छ । तर, पाइलट पढेर नेपाल फर्केर बेरोजगार हुनुपर्ने बाध्यता रहेको छ । युवाहरू ८० लाखदेखि  एक करोड रुपैयाँ खर्च गरी विदेश गएर पाइलट कोर्स पुरा गरेर नेपाल फर्कन्छन् । विडम्बना करोडौँ खर्चेर अर्बौँ कमाउने सपना देखेका धेरै पाइलट अहिले बेरोजगार छन् । 

नेपालमा भएका एयरलाइन्स कम्पनीहरूले सबै उत्पादित पाइलटलाई रोजगारी दिन सक्ने  अवस्था छैन ।  नेपालमा बुद्ध, यति, सीता, श्री, हिमालयन एयरले जति रोजगारी दिन सके त्यतिमै सीमित भएको छ । नेपाल एयरलाइन्सका जहाजहरू पनि ज्यादै थोरै भएका कारण धेरै पाइलट बेरोजगार बस्नुपर्ने अवस्था छ । 

नेपालमा पाइलटको पर्याप्त सम्भावना नहुँदा पाइलट कोर्स सकेर फर्केकाहरू बेरोजगार बस्नुपर्ने बाध्यता रहेको छ । नेपालमा प्रत्येक वर्ष १५० जना युवा पाइलट पढ्नका लागि विदेश जाने गरेका छन् । तर प्रतिवर्ष नेपालमा पाइलटको माग १५ देखि २० जनाको मात्र हुने गरेको छ । बाँकी पाइलट बेरोजगार बस्नुपर्ने बाध्यता रहेको छ ।