अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं, १ असार  : बारा, निजगढ नगरपालिका-८ स्थित तामागढी गेटबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोग्रामसहित मकवानपुर कैलाश गाउँपालिका-८ बस्ने २१ वर्षीय मनोज मोक्तानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ आउँदै गरेको बा.प्र-०३-००५ प ६९१९ नम्बरको मोटरसाइकलका चालक मोक्तानलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।
 

चितवन, रत्ननगर नगरपालिका-१६ खैरेनी टोल बस्ने ३२ वर्षीय अपनु श्रेष्ठलाई अवैध लागूऔषध गाँजा ६ किलोग्राम, एनारगन ५ सय ट्याब्लेट र ट्रामाडोल ४ सय ९७ ट्याब्लेटसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पिठुवाबाट खटिएको प्रहरीले उनको घरबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
 

पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ति चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४५ ट्याब्लेटसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-१८ फुर्केचौर बस्ने
२४ वर्षीय बिशाल थिङ्गलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले भारत रक्सौलबाट
वीरगंजतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।