मुक्त हलिया पुनःस्थापनाको नीति निर्माण गर्ने प्रतिबद्धता

 काठमाडौँ, १ असार : मुक्त हलिया पुनःस्थापनाका लागि शुक्लाफाँटा नगरपालिकाले नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आज यहाँ आयोजित एक कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो । 

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले संयुक्त रुपमा आयोजना गरेको मुक्त हलिया पुनः स्थापनाका लागि नीति तर्जुमासम्बन्धी छलफल कार्यक्रमका सहभागी जनप्रतिनिधिहरू मुक्त हलिया पुनः स्थापनाका लागि आवश्यक कार्यविधि, निर्देशिकालगायत निर्माण गर्न सहमत भएका हुन् ।

नगर प्रमुख रणबहादुर महराले मुक्त हलिया पुनः स्थापनाका लागि खरिद गरिएको जग्गाको छानबिन हुनुपर्ने बताउनुभयो । “आवास नै निर्माण हुन नसक्ने जग्गा कुन विधि र प्रक्रियाबाट खरिद गरियो,” उहाँले भन्नुभयो, “यसको पहिला छानबिन गरौँ, त्यसपछि मुक्त हलिया पुनः स्थापनाका लागि आवश्यक पर्ने नीति निर्माणतर्फ लागौँ ।” 

पुनःस्थापनाका लागि कस्तो नीति आवश्यक पर्छ, आवश्यकताका आधारमा नीति निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नु हुँदै उहाँले पुनःस्थापनाका लागि खरिद गरिएको जग्गाको व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । 

नगर उपप्रमुख कल्पना पन्तले आवास नै नबन्ने किसिमले किन जग्गा खरिद गरियो त्यसको छानबिन गरी टुङ्गोमा पुर्याएर मात्रै नीतिनिर्माणतर्फ लाग्नुपर्ने बताउनुभयो । “आवास बन्ने वातावरण भए नगरपालिकाले आवश्यक बजेट विनियोजन गर्दथ्यो,” उहाँले भन्नुभयो, “प्राविधिक त्रुटि हुँदा जग्गा खरिदको रकम ‘फ्रिज’ भएको छ ।”
 
गत आवमै आवास निर्माण सुरु गर्न रु ५० लाख विनियोजन गरेको जानकारी दिनु हँुदै उहाँले सो जग्गामा आवास बन्न नसक्ने प्राविधिकले सल्लाह दिएपछि काम रोकिएको बताउनुभयो । वडा नं ११ का वडाअध्यक्ष शेरबहादुर साउदले मुक्त हलिया पुनःस्थापनका लागि कार्यविधि बनाउँदै गरौँ, जग्गा खरिदको छानबिन पनि अगाडि बढाउँदै लैजानुपर्ने बताउनुभयो । 
    
कार्यक्रममा वडा नं ९ का वडाअध्यक्ष रमेशबहादुर ऐरले मुक्त हलियाको पुनःस्थापनाका लागि कार्यविधि बनाएर कार्य अगाडि बढाउनका लागि आगामी कार्यपालिकामा प्रस्ताव पेस गरिने बताउनुभयो । पच्चिसजना मुक्त हलियाको सुरक्षित आवास निर्माणका लागि चार वर्षअघि नगरपालिकाले जग्गा खरिद गरेको थियो । 

प्रत्येक परिवारलाई सात धुर जग्गाको जग्गाधनी प्रमाणपत्र पनि उपलब्ध गराइएको छ । खरिद गरिएको जग्गाको मोहडा साँघुरो हँुदा आवास निर्माण हुन सकेको छैन ।

राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारले प्राविधिक त्रुटिका कारण मोहडा साँघुरो राखेर कित्ताकाट गर्दा समस्या आएको बताउनुभयो । “तत्कालीन समयमा समस्या समाधानका लागि पहल गर्दा जनप्रतिनिधिको पदावधि सकियो, त्यसपछि पुनःस्थापनको कार्यले गति लिन सकेन,” उहाँले भन्नुभयो, “प्रक्रियामा जानु प¥यो, प्रक्रियामा गए मात्रै समस्याको समाधान हुन्छ ।” मुक्त हलिया पुनःस्थापनका लागि संस्थासँग त्यसबेला कुनै छलफल भने नभएको उहाँको दाबी छ । 

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका कार्यकारी निर्देशक हरिसिंह बोहराले मुक्त हलिया पुनःस्थापनका लागि कार्यविधि पारित गर्नुपर्ने र नगरपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेटमा मुक्त हलियाका सवाललाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले सुदूरपश्चि र कर्णाली प्रदेशमा रहेका मुक्त हलिया पुनःस्थापन, जग्गा खरिद, घर निर्माण, घर मर्मत, परिचयपत्र पाएनपाएका बारे कार्यक्रममा जानकारी दिनुभएको छ । मुक्त हलियाका पक्षमा स्थानीय सरकारले ऐन, नियम, निर्देशिका र कार्यविधि निर्माण गर्न सक्ने संवैधानिक र कानुनी आधारहरूबारे उहाँले जानकारी दिनुभएको थियो ।