रत्नेचौर–भकुण्डे–भकिम्ली सडक स्तरोन्नति हुँदै

काठमाडौँ, १ असार : बाटो खुलेको २५ वर्षपछि म्याग्दीकोे रत्नेचौर–भकुण्डे–भकिम्ली नौ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्र गर्ने कामले गति लिएको छ । अर्थ मन्त्रालयले बजेट पठाउन ढिला गरेका कारण गत पुसदेखि फागुनसम्म करिब तीन महिला सुस्त गतिमा हुँदै आएको थियो । सडक स्तरोन्नतिको काम फागुन अन्तिम साता अर्थ मन्त्रालयले बजेट पठाएपछि तीव्र रुपमा सञ्चालन भई अहिलेसम्म ५५ प्रतिशत काम पूरा भएको हो ।

विसं २०५६ मा बाटो खोलिएको बेनी नगरपालिका–१, २ र ३ का बासिन्दाले प्रयोग गर्ने उक्त सडक ‘एक निर्वाचन क्षेत्र एक सडक’ आयोजनाअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको काम थालेको हो । सडक निर्माणका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक रु २३ करोड ३२ लाखमा ३० महिनामा निर्माण सक्नेगरी ठेक्का सम्झौता भएको थियो । 

निर्माण कम्पनीका सञ्चालक अरुण सेढाइँका अनुसार २०८१ चैत मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने  सम्झौताअनुसार अहिले काम भइरहेको छ । “सडक स्तरोन्नति तथा कालोपत्र योजनाको ५५ प्रतिशत काम पूरा भएको छ,” ठेकेदार कम्पनीका सञ्चालक सेढाइँले भन्नुभयो, “अहिले तीन फेसमा काम भइरहेको छ, ढाँडखर्क, भकुण्डे र तमाने क्षेत्रमा सडक चक्लाउने, पर्खाल लगाउने र नाली बनाउने काम अन्तिम चरणमा पुगेको छ ।” 

आगामी पुससम्म स्तरोन्नतिका सम्पूर्ण काम सम्पन्न गरेर माघदेखि कालोपत्र गर्ने योजना रहेको उहाँले बताउनुभयो । “सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्र र दुई किमी आरसिसी ढलान गर्ने सम्झौता भएको हो, निर्धारित समयमा नै सडकको काम सकेर सडक डिभिजन कार्यालयलाई सडक हस्तान्तरण गर्ने योजनका साथ काम गरिरहेका छौँ,” सेढाइँले भन्नुभयो । 

घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि सकिएको उहाँले बताउनुभयो । हाल चारदेखि पाँच मिटर फराकिलो सडक हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे हुने समस्या थियो । सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक÷एकवटा रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न रु ४०÷४० करोड विनियोजन गरेको थियो । 

पहिलो चरणमा उपल्लाचौरदेखि नौ किलोमिटर दूरीमा पर्ने बेनी नगरपालिका–३ तोराखेतसम्म कालोपत्र गर्ने लक्ष्य रहेको छ । सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशविन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किमी तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो । यसैगरी भकिम्ली–बरङ्जा–अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ ।