मोटरसाइकल दुर्घटना हुँदा एककाे मृत्यु , तीन घाइते

सिरहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पञ्चकुमार बाकुले जानकारी दिए ।

आफैले चलाएको स ६ प ४७५३ नम्बरको मोटरसाइकल अत्यधिक गतिका कारण दुर्घटना हुँदा नरहा गाउँपालिका १ देवीपुरका करिब २५ वर्षीय सीताराम दासको उपचारको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नरहा गाउँपालिका ३ नयाँ चोहर्वादेखि पश्चिम अत्यधिक गतिमा चार जना सवार मोटरसाइकल अनियन्त्रित भई  दुर्घटनामा परेको डीएसपी पञ्चकुमार बाकुलेले जानकारी दिए ।

उनका अनुसार दुर्घटना लगतै प्रहरीको सहयोगमा दुई जना घाइतेहरूलाई गोलबजारस्थित लाईफलङ्ग अस्पताल र दुई जनालाई भूमिजा अस्पताल पुर्‍याएका थिए । मृतक दासको टाउकोमा गम्भीर चोट लागेका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । लाईफलङ्ग अस्पतालमा उपचाररतमध्ये दासको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । 

अर्का गम्भीर घाइते मिर्चैया नपा २ का बाबुलाल मण्डललाई थप उपचारको लागि विराटनगर पठाइएको छ । अन्य दुई जनाको भूमिजामा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।