काठमाडौं उपत्यकामा आज साँझदेखि मनसुनको सामान्य प्रभाव हुने

काठमाडौं— काठमाडौं उपत्यकाको तापक्रम शुक्रबारको तुलनामा शनिबार केही घटेको छ।शनिबार साँझदेखि यहाँ केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

शनिबार साँझदेखि काठमाडौं उपत्यकामा मनसुनको सामान्य प्रभाव महसुस हुने जानकारी दिँदै विभागका मौसमविद् सरोज पुडासैनीले अपरान्ह र राति मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताए।

मनसुन पूर्वबाट क्रमशः पश्चिमतर्फ सर्नेक्रम जारी छ तर यसलाई प्रिमनसुन गतिविधि नै मान्नुपर्ने उनले बताए। शुक्रबारको तुलनामा शनिबार आंशिकदेखि साधारणतया बदली हुने मौसमविद् पुडासैनीले बताए।

शनिबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ।शुक्रबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम ३३.४ डिग्री सेल्सियस मापन गरिएको थियो।