नेपाल टेलिकमले जल तथा मौसमजन्य विपद्‌ जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने

नेपाल टेलिकमले जल तथा मौसमजन्य विपद्‌ जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा टेलिकमले मोबाइल एसएमएस मार्फत यस्तो सूचना प्रवाह गर्ने भएको हो ।

यसअन्तर्गत जल तथा मौसम विज्ञान विभागले टेलिकमलाई विपद् सम्बन्धी पूर्वसूचना एवं आवश्यक जानकारी उपलब्ध गराउने छ । बाढी वा विषम मौसमजन्य विपद्‌ जोखिमको पूर्वसूचना तथा तत्सम्बन्धी जानकारी अनुमानित क्षेत्रमा प्रकोप आउनु अगावै शर्टकोड ११५५ मार्फत ती क्षेत्रका मोबाइल फोन प्रयाेगकर्ताले प्राप्त गर्न सक्नेछन् ।

यस अनुसार वर्षा, हावाहुरी, चट्याङ, हिमपहिरो, हिमपात/हिमआँधी, तातो हावाको लहर (लु), शितलहर, वायु प्रदूषण, घुम्रपात, बाढी, आकस्मिक बाढी, पहिरो, हिमताल विष्फोटन,  डढेलो जस्ता विपद्हरुको पूर्वसूचना उपलब्ध गराइने छ ।

यसका लागि नेपाल टेलिकमले जल तथा मौसम विज्ञान विभागलाई सेन्ट्रल सर्भरमा प्रयोग गर्नका लागि पहिलेदेखि नै ६०० सिम उपलब्ध गराइरहेकोमा अब थप १०० सिम समेत उपलब्ध गराएको छ र यसमा प्रतिमहिना ३०० एमबी डाटा समेत निःशुल्क उपलब्ध छ ।

नेपाल टेलिकमले विगत आठ वर्षदेखि यस प्रकारको सूचना प्रवाहका लागि आवश्यक सहयोग गरिरहेको छ ।