वर्तमान नेपालि टोलीका पाँचजना नियमित खेलाडीलाई विश्राम दिनुपर्छ : पूर्वकप्तान क्षेत्री

नेपाली टिमका पूर्वकप्तान लेख क्षेत्रीले वर्तमान टोलीका पाँचजना नियमित खेलाडीलाई विश्राम दिनुपर्ने टिप्पणी गरेका छन् । 

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटमा आज बिहान दक्षिण अफ्रिकाविरुद्ध एक रनले पराजित भएपछि उनले कम्तीमा पाँचजना खेलाडीलाई अब विश्राम वा टोलीबाट हटाउनुपर्ने टिप्पणी गरेका हुन् ।

साथै, क्षेत्रीले अनुभवको कमी र मनोवैज्ञानिक दबाब झेल्न नसक्दा पनि नेपालले हार बेहोरेको बताए । यस्तै, उनले कोचिङ स्टाफका बारेमा समेत गहन विश्लेषणात्मक अध्ययन हुनुपर्नेमा जोड दिएका छन् । पूर्वकप्तान क्षेत्रीका अनुसार नयाँ ढङ्गले नेपाल क्रिकेटलाई पुनः संरचना गर्ने समय आएको छ ।   

‘नेपाली बलिङले हामीलाई आस जगायो । तर, ब्याटिङले फेरि हतास बनायो । अर्को इतिहास लेख्नबाट वञ्चित हुनुपर्‍यो । अनुभवको कमी र मनोवैज्ञानिक दबाब खेलमा प्रष्ट देखिन्थ्यो । म फेरि गम्भीरताका साथ आफ्नो पहिलेकै अडानमा कायम छु कि कम्तीमा पाँचजना खेलाडीलाई अब विश्राम भन्नु कि टोलीबाट हटाउनुपर्छ,’ पूर्वकप्तान क्षेत्रीले फेसबुकमा लेखेका छन्, ‘उच्च प्रदर्शन पछि मात्र टोलीमा यस्ता खेलाडीलाई स्थान दिनुपर्छ । साथै कोचिङ स्टाफका बारेमा समेत गहन विश्लेषणात्मक अध्ययन हुनुपर्छ र नयाँ ढङ्गले नेपाल क्रिकेट लाई पुनः संरचना गर्ने बेला यही हो । हामी ढिलो गरिसकेका छौँ, अब नगरौँ ।’