उमेर नै नपुगेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता

काठमाडौँ, १ असारः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उमेर नै नपुगेका व्यक्तिहरूलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा राखेको आरोपमा वडाध्यक्षसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

शुक्रवार अख्तियारले मोरङको रतुवामाइ नगरपालिका-६ का वडाध्यक्ष तुलाराम लुइँटेल र त्यहाँका तत्कालीन वडासचिव कल्पना बास्कोटा, इलाका प्रशासन कार्यालय रंगेलीका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र नासु रमेश कोइरालाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

स्थानीय मेगदीप पोखरेल, तारा देवी पोखरेल, भक्त कुमारी लुइँटेलविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।अख्तियारका अनुसार वडाले विवरण क्रीते गरी सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्ने उजुरी परेको थियो । अनुसन्धानका क्रममा वडाध्यक्षको मिलेमतोमा उमेर नै नपुगेका व्यक्तिहरूलाई उमेर सच्याएर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सूचीमा राखिएको पाइएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

त्यति मात्रै नभई उमेर बढाउन नागरिकताको प्रतिलिपि लिनका लागि वडाले जन्म मिति परिवर्तन गरेर सिफारिस समेत गरेको समेत अख्तियारले भेटेको छ। वडाले उमेर बढाइएको नागरिकताको प्रतिलिपि दिन लेखेको सिफारिस इलाका प्रशासन कार्यालयले विवरणहरू जाँच नै नगरी प्रतिलिपि दिएको भेटिएको अख्तियारले जनाएको छ।

वडाध्यक्ष लुइँटेलविरुद्ध १ लाख ६० हजार रुपैयाँ, वडासचिव बास्कोटाविरूद्ध १ लाख ४४ हजार रुपैयाँ, मेगदीप र तारादेवी विरुद्ध १ लाख ४४ हजार र कुमारी लुइँटेलविरुद्ध १६ हजार रुपैयाँ बिगो असुल गर्न समेत अख्तियारले माग गरेको छ ।