१० महिनामा १२२५ जनाले नेपाली नागरिकता त्यागे

चालु आर्थिक वर्षको १० महिना अर्थात् साउन १ देखि बैशाख मसान्तसम्म १ हजार २२५ जना नेपालीले आफ्नो नागरिकता त्यागेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५ गुणाभन्दा बढी हो । अघिल्लो आर्थिक वर्ष २३७ जनाले नेपाली नागरिकता त्याग गरेका थिए ।

अध्यागमन कार्यालयका अनुसार सन् २०२३ मा झन्डै ७१ हजार नेपालीहरूले स्थायी बसोबासको अनुमति पत्र (पीआर) लिएर नेपालबाट विदेश गएका थिए । नेपालीहरू पीआर लिएर १०९ वटा देशमा पुगेका छन् । नेपालबाट स्थायी बसोबासका लागि खाडी राष्ट्र, चीन, कोरिया भन्दा युरोप, अमेरिका, क्यानडा र अस्ट्रेलिया जाने क्रम धेरै देखिएको छ । 

उता पिआर लिंदासम्म नागरिकता त्याग नगर्ने नेपालीहरुले उताको नागरिकता लिनको लागि भने नेपाली नागरिकता त्याग गर्ने गरेका छन् । नेपाल नागरिकता नियमावलीमा नागरिकता त्याग सम्बन्धी कार्यविधि तोकिएको छ जस अनुसार नेपालमा भएका नागरिकले जिल्ला प्रशासन कार्यालय र विदेशमा भएकाले नेपाली दूतावास वा महावाणिज्य दूतावासमा निवेदन दिनुपर्ने व्यवस्था छ ।

नेपाली नागरिकता त्याग गरेका अधिकाँश नेपालीहरुले गैरआवासीय नेपाली नागरिकता लिन इच्छुक रहेको बताइएको छ । गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका अनुसार विगत १० महिनाको अवधिमा २,५५४ जनाले गैरआवासिय नेपाली नागरिकता लिएका छन्।