नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज

काठमाडौँ । नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २००४ असार १ गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोललगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणाशासकविरुद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलन पछि जहानियाँ राणाशासनको विरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो । राणाशासकले तीनधारा पाठशालाबाट चार पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि उनीहरुले राणाशासनको बिरोध गर्दै देशभर जागरण फैलाएका थिए । यसले कुना कन्दराका जनतालाई राणाशासकविरुद्ध सङ्गठित गरेको थियो ।

तत्कालीन समयमा विद्यार्थीहरु देशका विभिन्न भाग हुँदै भारतको वनारस पुगेका थिए । वनारसमा राणाशासनको अन्त्य गर्न प्रवासमा रहेका नेपालीलाई गोलबद्ध गरिरहेका नेपाली कांग्रेसका संस्थापक बिपी कोइरालालगायत नेतासँग जयतु संस्कृतम्का अगुवाहरु पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतले भेट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक भएका थिए । त्यसबेला असार १ गते विद्यार्थीले आन्दोलन सुरु गरेको सम्झनामा प्रत्येक वर्ष यसै दिन जयतु संस्कृतम् दिवस मनाउने गरिन्छ ।

आन्दोलनको स्वर्ण वर्षका अवसरमा विसं २०५५ मा संस्कृतका क्षेत्रमा काम गर्ने उद्देश्यले जयतु संस्कृतम्लाई संस्थागत स्वरुप दिई विधिवत् रुपमा दर्ता गरिएको थियो । त्यसै वर्षदेखि संस्थागत रुपमा जयतु संस्कृतम् दिवस मनाउन थालिएको हो ।

यस अवसरमा आज बिहान दरबारमार्गस्थित तीनधारा पाठशाला अघि रहेको जयतु संस्कृतम् स्तम्भमा माल्र्यापण, पुष्पगुच्छासहित विश्व शान्तिको सङ्कल्पले स्वस्ति वाचन गरिने जनाइएको छ । कार्यक्रममा सहभागी हुन जयतु संस्कृतम् संस्थाले संस्कृतका अनुयायीमा आह्वान गरेको छ ।

माल्यार्पण र स्वस्ति वाचनपछि दरबारमार्गस्थित जयतु संस्कृतम् स्तम्भबाट प्रभातफेरी गरिने र रानीपोखरीस्थित श्री संस्कृत माध्यमिक विद्यालय (दरबार हाई स्कूल) मा पुगेर औपचारिक कार्यक्रम गरिने जनाइएको छ । यस वर्ष ७८ औँ जयतु संस्कृतम् दिवस मनाउन लागिएको जयतु संस्कृतम् संस्थाले जनाएको छ ।