पर्वतको बनौका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित
काठमाडौँ, ३० जेठ : जिल्लामै स्वादिलो र गुणस्तरीय आलु उत्पादनका लागि ख्याति कमाएको जलजला गाउँपालिका–९ बनौका किसान व्यावसायिक आलुखेतीतर्फ आकर्षित भएका छन् । परम्परागत र निर्वाहमुखी रुपमा आलुको खेती गर्दै आएका किसान यस वर्षदेखि व्यावसायिक रुपमा खेती गर्न थालेका हुन् । कोदो र आलुमात्र उत्पादन हुने बनौमा धानखेती निकै कम हुन्छ । अहिले यहाँका बासिन्दाले आलु र कोदोखेती गर्दै आएका छन् ।
कृषि ज्ञान केन्द्रको खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषक बीउ, मल, यान्त्रिकीकरण तथा बजारीकरणका साथै प्राविधिक सहयोग पाएपछि व्यावसायिक रुपमा यो खेतीमा लागेका हुन् । अहिले बनौ गाउँमा मात्र चार सय रोपनी क्षेत्रफलमा आलुको खेती गरिएको छ । बनौमा रहेका दुई आलु उत्पादक समूहमा आबद्ध ७३ किसानले सामूहिक रुपमा आलु उत्पादन थालेका हुन् ।
विगतमा एक रोपनी क्षेत्रफलबाट कम्तीमा पाँच मुरी आलु उत्पादन हुने गरेकामा अहिले दोब्बर उत्पादन हुने स्थानीय मणिबराह कृषि समूहका अध्यक्ष टकबहादुर पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले लगाइएको चार सय रोपनी क्षेत्रफलबाट पहिलेभन्दा दोब्बर उत्पादन हुने अपेक्षा गरिएको छ ।
समूहमा आबद्ध भएका किसानले न्यूनतम रु एक लाखदेखि रु १० लाखसम्म आलु बिक्री गरेर आम्दानी गर्ने भएका छन् । उत्तरी भेगतर्फ फर्किएको बनौको गाउँमा आलुको राम्रो उत्पादन हुने र खानका लागि स्वादिलो र गुणस्तरीय समेत हुने किसान पुर्जाले बताउनुभयो । बनौमा परम्परागत बीउ नै लगाइएको छ ।
चालु आर्थिक वर्षदेखि सुरु भएको खायन आलु प्रवद्र्धन कार्यक्रमअन्तर्गत यस वर्ष झन्डै दुई हजार किसानले व्यावसायिक रुपमा आलुखेती गरेका छन् । अहिले आलु खन्ने र थन्क्याउने बेला भएकाले केही दिनमा कति उत्पादन भयो भन्ने यकिन तथ्याङ्क आउने कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिृकत शङ्कर पौडेलले बताउनुभयो । उहाँका अनुसार प्राविधिक ज्ञानसँगै किसानले आधुनिक तरिकाले आलुखेती गर्न थालेपछि उत्पादनसमेत बढेको छभने कृषकसमेत उत्साहित भएका छन् ।
कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीका अनुसार यो कार्यक्रमअन्तर्गत हिउँदे याममा गरिएको आलुखेतीमा जिल्लाभरका एक हजार आठ सय २१ किसानले व्यावसायिक रुपमा आलुखेती गरी आम्दानी गर्न सफल भएका छन् । बर्खेयाममा यसको आधा सङ्ख्यामा किसानले आलुखेती लगाएका छन् ।
किसानलाई व्यावसायिक आलु खेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । आलु प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा रु तीन करोड विनियोजन भएको थियो । उक्त बजेटबाट किसानलाई आलुको बीउ, मल, यान्त्रिकीकरण तथा बजारीकरणमा अनुदान उपलब्ध गराइएको अधिकारीले बताउनुभयो ।
कार्यक्रमको लक्ष्य यो आर्थिक वर्षमा एक सय २५ हेक्टरमा आलुखेती विस्तार गर्ने भनिए पनि किसानको मागअनुसार एक सय ५५ हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको हो । पहिलो याममा एक सय चार हेक्टरमा क्षेत्रफलमा गरिएको आलुखेतीबाट दुई हजार छ सय ५८ मेट्रिकटन आलु उत्पादन भएको छ । त्यसबाट किसानले उपभोग गरेर बाँकी रहेको आलु बिक्रीबाट रु पाँच करोड आम्दानी गरेका छन् ।
बर्खे आलुका लागि ५० हेक्टर क्षेत्रफलमा खेती गरिएको छ । यसको उत्पादन र आम्दानीको तथ्याङ्क असार अन्तिम सातासम्म आइपुग्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । सबैभन्दा बढी आलु जिल्लाको जलजला गाउँपालिकामा उत्पादन भएको केन्द्रले जनाएको छ ।
पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस ४२, कुफ्री, ज्योति, ताराखोला, जातका आलुको खेती गरिएको थियो । प्रतिहेक्टर न्यूनतम २६ मेट्रिकटनदेखि अधिकतम ४६ मेट्रिकटनसम्म उत्पादन भएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले जानकारी दिनुभयो । यसबाट उपभोगका लागि किसानलाई खरिद गर्न नपर्नाका साथै बिक्री वितरणबाट पनि राम्रो आम्दानी गरेको पौडेलले बताउनुभयो ।
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
पूर्वन्यायाधीशहरूको निर्णय : सम्पत्ति छानबिन आयोगलाई विवरण नबुझाउने
रोल्पामा जीप दुर्घटना, तीन जनाको ज्यान गयो
भन्सार घोटाला गरेको आरोपमा बीवाईडी कम्पनीका ७७४ विद्युतीय गाडी सशस्त्र प्रहरीक…
उत्तर कोरियाको आणविक दौड तीव्र
इनरुवामा तास खेलिरहेको अवस्थामा १२ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद
प्रतिक्रिया