सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ। उच्च अदालतमा यस अगाडि तीन पटकसम्म सुनुवाई स्थगित् भएको सन्दीपकाे आज फेरि सुनुवाइ मिति परेकाे छ। लामिछानेले जिल्ला अदालतको फैसलाविरुद्ध गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुनलागेकाे हाे।

अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको इजलासले गत आइतबार आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।

त्यसअघि, वैशाख १० गते उच्च अदालत पाटनका न्यायाधीशद्वय सुनदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा पनि सन्दीपको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । त्यसअघि, न्यायाधीशद्वय मनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले गौशाला २६ (छ)को जन्मदर्ता प्रमाणपत्रसँगै जन्मदर्ताका निम्ति दिइएको निवेदनको सक्कल कपी झिकाउने आदेश गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले सन्दीपले गौशाला २६ (छ) लाई जबर्जस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिबाना तथा थप दुई लाख क्षतिपूर्तिको फैसला गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजालसले गरेको फैसलाविरुद्ध सन्दीपले गएको फागुन १० गते पुनरावेदन गरेका थिए ।

काठमाडौं जिल्ला अदालतले गौशाला २६ (छ)लाई बालिग ठहर गरेको तथा सन्दीपलाई न्यूनतम सजाय तोकेको भन्दै त्यसविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुरावेदन गरेको छ । दुवै मुद्दामा यसअघि नै एकसाथ सुनुवाइ सुरु भइसकेको छ ।