लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि चीन भ्रमणमा गएको छ । 

शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सभामुख घर्तीसहित उप–सभामुख मेनुका खाँड केसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरी, प्रदेशसभा सचिव दुर्लभकुमार पुन चीन भ्रमणमा जानुभएको हो  । 

छोङ्गचिङ अन्तर्राष्ष्ट्रिय सांस्कृतिक आदानप्रदान केन्द्रको सहजीकरणमा उहाँहरु  चीन जानुभएको प्रदेशसभा सचिवालले जनाएको छ । भ्रमणका क्रममा चीनको छोङ्गचिङ म्युनिसिपल पिपुल्स कंग्रेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको र भ्रमणले छोङ्गचिङ म्युनिसिपल र लुम्बिनी प्रदेशबीचको सञ्चार सम्वन्ध र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिएको सभामुख घर्तीले बताउनुभयो । छोङ्गचिङ महानगर चीनको ठूला चार महानगरमध्ये एक हो ।