आँबुखैरेनीमा ‘नमुना युवा संसद्’ अभ्यास सुरु

काठमाडौँ, २२ वैशाख :  तनहुँको आँबुखैरेनी गाउँपालिकामा नमुना युवा संसद अभ्यास तथा नमूना गाउँ सभा प्रशिक्षण सुरु भएको छ । ‘समृद्ध नेपालका लागि स्वस्थ कर्मठ र उद्यमी युवा’ भन्ने मूल नाराका साथ युवाको हकहितको संरक्षण र सम्बर्द्धन गरी समुन्नत मुलुक निर्माण गर्ने उद्देश्यका साथ प्रशिक्षण सञ्चालन गरिएको हो । 

शुक्रबारदेखि सुरु भएको प्रशिक्षण चार दिनसम्म सञ्चालन हुने गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । उहाँले आँबुखैरेनीको विकासका लागि युवालाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै सार्थक सहभागिता सुनिश्चित गरी गाउँपालिकालाई आधुनिक, न्यायपूर्ण र समृद्ध बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले परिषद्को सशर्ततर्फको कार्यक्रमअन्तर्गत गाउँपालिकामा नमुना अभ्यास गराइएको बताउनुभयो । युवामा उद्यमशीलता र नेतृत्व विकास गरी देशको नेतृत्व लिन सक्ने जनशक्ति उत्पादनमा कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ छ । 

प्रशिक्षणमा शिक्षा विकास तथा समन्वय इकाइका निमित्त इकाइ प्रमुख विश्वप्रकाश रेग्मी, राष्ट्रिय युवा परिषद्का पूर्वप्रमुख प्रशासकीय अधिकृत रमाकान्त शर्मा र अनुप घिमिरेले सहजीकरण गर्नुहुनेछ ।