भारतीय प्रधानन्यायाधीश किन आए नेपाल ?

भारतीय प्रधानन्यायाधीश डा धनञ्जय यशवन्त (डीवाई) चन्द्रचूड अहिले काठमाडौँमा छन् । उनी नेपालको औपचारिक भ्रमण गर्ने पहिलो भारतीय प्रधानन्यायाधीश पनि हुन् । राजनीतिक तहमा धेरै भ्रमण भइरहँदा न्यायिक नेतृत्वका तर्फबाट भने भारतको सर्वोच्च अदालत स्थापनाको ७५ वर्षपछि मात्र सम्भव भएको हो । त्यसैले उनको भ्रमणलाई नेपालको सर्वोच्च अदालतले उच्च महत्त्व दिएको छ।

चन्द्रचूड शुक्रबार साँझ ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । उनलाई सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा आनन्दमोहन भट्टराई, मुख्य रजिस्ट्रार देवेन्द्र ढकाललगायतले स्वागत गरे । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहित दूतावासको टोली पनि स्वागतमा पुगेका थिए ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतीय प्रधानन्यायाधीश चन्द्रचूड नेपालको औपचारिक भ्रमणमा आएको सर्वोच्च अदालतले जनाएको छ । साथमा उनकी श्रीमती कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्टमास्टर चेतन अरोरा रहेका छन् ।

गत माघमा प्रधानन्यायाधीश श्रेष्ठ भारत भ्रमणमा गएका थिए । भारतीय सर्वोच्च अदालतको ७५ औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन गएका उनले चन्द्रचूडलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यही निम्तो मानेर चन्द्रचूड नेपाल आएका हुन् ।

चन्द्रचूडले शनिबार सर्वोच्च अदालतको केन्द्रीय बाल न्याय समितिको आयोजनामा हुने राष्ट्रिय बालन्याय संगोष्ठीको विशिष्ट अतिथिका रूपमा भाग लिनेछन् । उनी कार्यक्रमका मुख्य वक्ता पनि हुन् । शनिबार साँझ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र भारतीय समकक्षी चन्द्रचूडबीच औपचारिक वार्ता हुनेछ । 

साँझ चन्द्रचूडको सम्मानमा राजकीय भोजको आयोजना गरिएको छ, जसमा प्रधानन्यायाधीश श्रेष्ठसहित सर्वोच्च अदालतका सबै न्यायाधीश तथा विशिष्ट अधिकारीहरू, नेपाल सरकारका कानुनमन्त्री पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, कानुन सचिवलगायतलाई निम्त्याइएको छ ।

शनिबार बिहान भारतीय प्रधानन्यायाधीश चन्द्रचूड पाटन दरबार, भक्तपुर दरबार र हनुमानढोका दरबारको अवलोकन भ्रमण गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
भारतीय प्रधानन्यायाधीश चन्द्रचूड आइतबार मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम मिलाइएको छ । त्यसपछि उनी अन्नपूर्ण आधार शिविर पुग्नेछन्। उनको ब्रेकफास्ट पोखरामा हुनेछ ।

वैशाख २३ गते राति उनी स्वदेश फर्कने तालिका छ।

चन्द्रचूड भारतका ५० औँ प्रधानन्यायाधीश हुन् । सर्वोच्च अदालतको न्यायाधीशमा ८ वर्षअघि मात्र नियुक्त भएका उनी २०७९ सर्वोच्च न्यायालयको नेतृत्वमा पुगेका हुन् । उनको कार्यकाल दुई वर्ष रहेको छ ।

उनका बुवा यशवन्त विष्णु चन्द्रचूड भारतीय सर्वोच्च अदालतका १६ औँ प्रधानन्यायाधीश थिए । उनले सर्वाधिक लामो कार्यकाल सेवा गरेका थिए । ७ वर्ष ४ महिना उनले न्यायपालिकाको नेतृत्व गर्ने मौका पाएका थिए ।

उनको यस भ्रमणले दुई देशबीचको न्यायिक अनुभव आदानप्रदान तथा द्विपक्षीय सम्बन्धमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । साथै नेपालबाट मात्र एकतर्फी भारत भ्रमणमा जाँदा राम्रो सन्देश नजाने भएकाले पनि पारस्परिकताका कोणबाट समेत यो भ्रमण अर्थपूर्ण छ ।