श्रमिक दिवसः हरवाचरवालगायत कृषि मजदुरका समस्या समाधानका लागि आग्रह

दासप्रथाको अवशेषका रूपमा रहेका हरवाचरवालगायत प्रथा अन्त्य र कृषि मजदुरका समस्या समाधानका लागि यस क्षेत्रमा क्रियाशील संस्थाहरूले सरकारसँग आग्रह गरेका छन् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी राष्ट्रिय हरवाचरवा अधिकार मञ्च र राष्ट्रिय दलित नेटवर्क नेपाल ९आरडिएन० ले सबैप्रकारका श्रम शोषणको अन्त्य गर्दै मुक्त हरवाचरवा, कम्लहरी, हलिया तथा कमैयाको पूर्ण पुनर्स्थापनाका लागि सङ्कल्प गर्न सरकारलाई आग्रह गरेका हुन् । “नेपालको संविधानको धारा २४ (छुवाछूतविरुद्धको हक), २९ ९शोषणविरुद्धको हक० र ४० (दलित हक) विपरित अहिले पनि पश्चिम नेपालका मुक्त कमैया, कम्लहरी तथा हलियाहरूको पुनर्स्थापनाका काम अझै पूरा हुनसकेका छैनन । त्यसैले सरकारले गठन गरेको मुक्त कमैया, कम्लहरी, हलिया तथा हरवाचरवा अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्न र पुनर्स्थापनासम्बन्धी कार्यविधि पारित गरी तत्काल पुनर्स्थापनाका बाँकी काम अगाडि बढाउन आग्रह गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, मधेश प्रदेशका आठ जिल्लामा विद्यमान हरवाचरवा प्रथा मुक्तिको घोषणा गरिए पनि पुनर्स्थापनाका लागि प्रारम्भिक कामसमेत अगाडि बढ्न नसकेकामा सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको छ ।  “कृषि तथा सेवालगायत श्रमका विभिन्न क्षेत्रमा श्रम र सीप लगानी गरी मधेश प्रदेशको समृद्धिमा योगदान गरिरहेका एक लाखभन्दा बढी हरवाचरवा परिवारको तथ्याङ्क सङ्कलन, प्रमाणीकरण तथा वैज्ञानिक वर्गीकरणसहित पुनर्स्थापनाका कामअघि बढाउन माग गर्दछौँ । कृषि मजदुरको अवस्था बदल्नका लागि मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन श्रमिक दिवसले सबैलाई प्रेरणा प्रदान गरोस्”, अधिकार मञ्चका अध्यक्ष दशनलाल मण्डल र आरडिएनका अध्यक्ष मोहन ओडद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।