वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

कोशीका मुख्यमन्त्री हटाउन कस्सिए एमाले र माओवादी, नयाँ सरकार कि मध्यावधी चुनाव ?

कोशीमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री केदार कार्की टसमस नभएपछि राजनीतिक चासो बढेको छ। सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्छ। तर, कोशीमा भने कार्की दलीय नभइ सांसदका हैसियतले मुख्यमन्त्री रहेको र तत्कालीन अवस्थामा दलीय ह्वीप नलाग्ने अवस्थामा समर्थन पाएकाले आफूले सदन फेस गर्न नपर्ने बताउँदै आएका छन्। बरु विश्वासको मत नपाए अर्काे सरकार गठनको विकल्प नहुने भएकाले मध्यावधी चुनाव नै अन्तिम विकल्प भनिरहेका छन्। उनी नेपालको संविधानको धारा १६८ को (५) बाट मुख्यमन्त्री बनेका हुन्। 

संविधानविद् चन्द्र ज्ञवालीले पनि भनेका छन्, ‘संसद अधिवेशन बोलाएर संसदको विश्वासको मत म लिन्छु भनेर ३० दिनभित्र उहाँ जानु त्यही निकास हुन्छ। विश्वासको मत प्राप्त भएन भने उहाँ कामचलाउ सरकार हुन्छ। काम चलाउ सरकार भएपछि उहाँले त्यो संसदको विघटन गर्ने र राजीनामा गर्ने। काम चलाउ सरकार भन्ने बित्तिकै चुनावी सरकारमा परिणत हुन्छ।’

https://barnanmedia.com/news/detail/173119/

सर्वोच्चको निर्णयअघि नै प्रदेशसभाबाट बहुमत सिद्ध गर्ने खगराजको प्रयास होला त सफल ?

कोसी प्रदेशमा सभामुखको हस्ताक्षर दुरूपयोगदेखि बैठकको अध्यक्षता गरेका व्यक्तिको समेत मतदान हेरियो । सरकार बनाउन र टिकाउन गरिएका ती दुवै प्रयास सर्वोच्च अदालतबाट गैरसंवैधानिक घोषणा भए । र, कांग्रेसका उद्धव थापाले संविधानमाथि जालसाजी गरेको ठहर भयो । प्रदेश प्रमुख संवैधानिक नैतिकताबाहिर गएको कुरा सर्वोच्चको फैसलामै लेखियो ।

कुनै पनि सभ्य राज्य एवं व्यवस्थाभित्र संवैधानिक नैतिकताको प्रश्न उठ्नु गम्भीर कुरा हो । कुनै फौजदारी कसुरमा कैद वा जरिवानाको सजाय हुन्छ । संविधानको उल्लंघन ठहर हुनु त्योभन्दा पनि गम्भीर विषय हो । तसर्थ यस्तो नैतिकता र मर्यादाबाहिरको कदमका कारण कतिपय मुलुकमा राजनीतिज्ञ एवं अन्य संवैधानिक पदाधिकारीले सार्वजनिक जीवनबाटै संन्यास लिएका पनि देखिन्छन् । 

https://barnanmedia.com/news/detail/173120/

पूर्व मुख्यसचिव तीर्थमान शाक्यको निधन

पूर्व मुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ। नेपाल कानून समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सर रोगको उपचारका क्रममा बुधबार बिहान ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो।

लोकसेवा आयोगका पूर्वअध्यक्ष शाक्यको ८१ वर्षको उमेरमा निधन भएको हो। उनी डेढ महिनाअघि मात्र भारतको दिल्लीमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका थिए। नेपालको कानूनको मस्यौदा कार्यमा दख्खल प्राप्त गरेका उनी कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवसमेत थिए।

पाठेघर सफा गर्दा मृत्यु भएकी भीमाकाे शव आफन्तले अस्पतालमै छाेडेर फर्किए घर

आठबिस नगरपालिका–५ दैलेख पिपलकोट निवासी २२ वर्षीया भीमा गुरुङको कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट शव नबुझेरै उनको परिवार आज घर फर्केको छ । भीमा विसं २०८० चैत २८ गतेका दिन सामान्य पेट दुखाइसम्बन्धी समस्या लिएर उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुगेकी थिइन् ।

प्रदेश अस्पतालका चिकित्सकले पेटमा तीन महिनाको सालनाल रहेकाले सामान्य सफाइ गर्नुपर्ने भनी भर्ना गरेको थियो । गत चैत २९ गते उनको शल्यक्रिया गर्नुपूर्व चिकित्सकको टोलीले ‘केस’ सामान्य भएकाले चिन्ता लिनु नपर्ने जनाउँदै शल्यक्रिया कक्षमा लिइएको परिवारका आफन्त कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

https://barnanmedia.com/news/detail/173122/

सांसद शर्माको केएमसीको टोली निःशुल्क स्वास्थ्य शिविरका लागि पेप्सीकोलामा

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले राजधानीको पेप्सीकोलामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

हिमालय टोल सुधार समिति पेप्सीकोलाको आयोजनामा नेक्सस स्कुलमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ९६५ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घट्यो

 बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।

बुधबार प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ घटेर बिहीबार १ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छ । यसैगरी तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँ रहेकोमा आज १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा झरेको छ ।

भूकम्पपीडितलाई रेडक्रसको अस्थायी आवास

 नेपाल रेडक्रस सोसाइटीले सुदूरपश्चिमका दुई सय ४९ भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गरेको छ ।
    
गत असोजमा भूकम्पले सुदूरपश्चिमका बझाङ र बाजुरामा बढी क्षति पु¥याएको थियो । भूकम्पपीडितको सहायताका लागि रेडक्रसले अस्थायी आवास, राहत सामग्री र आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ ।

मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने

 केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रबारका दिन केबलकारको सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ। सेवा शनिबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको सहिदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विसं २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो।

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको  अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा  बढेर  ३.८ प्रतिशत पुगेको  आधिकारिक तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार रोजगारमा रहेका अष्ट्रेलियालीहरूको संख्या फेब्रुअरी र मार्चको बीचमा छ हजार छ सयले घटेको छ, भने  बेरोजगारी दर ३.७ बाट ३.८ प्रतिशतमा पुगेको न्यूज कर्प अर्थशास्त्रीलाई उद्धृत गर्दै अष्ट्रेलियाका अखबारहरूले जनाएका छन् 

जनवरी र फेब्रुअरीको बिचमा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या एक लाख १६ हजार पाँच सयले बढेपछि रोजगारीमा गिरावट आएको हो । एबीएसले फेबु्रअरी र मार्चको बिचमा पूर्ण–समय भूमिकामा कार्यरत अस्ट्रेलियालीहरूको सङ्ख्या २७ हजार नौ सयले बढे पनि सोही अवधिमा अंशकालीक रोजगारी ३४ हजार पाँच सयले घटेको बताएको छ ।

टि-ट्वान्टी क्रिकेटमा लुम्बिनीको जित

मुलपानी क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई सात विकेटले पराजित गरेको हो । जितसँगै लुम्बिनीले तीन खेलमा चार अङ्क जोडेको छ । यसअघि गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको लुम्बिनीले मधेससँग २७ रनले पराजित भएको थियो ।

कर्णालीले प्रस्तुत गरेको ८२ रनको सामान्य लक्ष्य लुम्बिनीले १२ दशमलव दुई ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । लुम्बिनीका लागि कप्तान देव खेनालले २९ बलमा सात चौका र एक छक्काको मद्दतले अविजित ५१ रन बनाए । यसैगरी मृर्नाल गुरुङले १३ रन जोडदा विराट भण्डारीले अविजित १० रन बनाए ।

एन्फाका उपाध्यक्ष दावा लामा छुटे

बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि नै तारेखमा राख्नु भन्ने आदेश दिएको खुलेपछि रिहा भएका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेकोका छन् ।

दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो । तर, उनी सजाय भुक्तान नगरी फरार रहेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।

साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द : नेप्से

आज नेप्से १९.५६ अंकले घटेर एक हजार ९ दशमलव ७२ विन्दुमा बन्द भएको हो । आज २ अर्ब ९ करोड ३६ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २७ वटाको बढेको छ भने २११ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।    

   नेप्सेका अनुसार आज खानीखोला हाइड्रोपावर लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको शेयर मूल्यमा सबैभन्दा बढि वृद्धि देखिएको छ । यी कम्पनीको शेयरमूल्य क्रमशः ७.९४ र ६.२१ प्रतिशतले बढेको छ । 

काठमाडौँ महानगरको सम्पदा यात्राः विपत्तिबाट पाठ सिक्नुपर्नेमा जोड

काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज बृहत् योग तथा सम्पदायात्रा कार्यक्रम सम्पन्न गरेको छ । 

विश्व सम्पदा दिवस २०२४ का अवसरमा आज आयोजना गरिएको कार्यक्रममा विगतमा विपत्तिले सम्पदा क्षेत्रमा पारेको क्षतिबाट संरक्षणको पाठ सिक्नुपर्नेमा जाड दिइएको छ । महानगरका जनप्रतिनिधि, कर्मचारी, संस्कृतिकर्मी तथा स्थानीयले सम्पदाको संरक्षण गर्नका लागि ‘विगतका घटनालाई बिर्सन नहुने’ साझा मत व्यक्त गर्नुभयो । 

सांसद डा शर्माद्वारा बाल अस्पताललाई रु २० लाख सहयोग

 प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई रु २० लाख सहयोग गर्नुभएको छ । 

    शर्माले आज हेपाली हाइटमा रहेको डा भगवान कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो सहयोग गर्नुभएको हो । रकम हस्तान्तरण गर्दै डा शर्माले राज्यले गर्नुपर्ने काम डा कोइरालाले आफैँ गर्न लाग्नुभएको देखेर कोइरालाको सम्मानस्वरुप आफूले सो सहयोग उपलब्ध गराएको बताउनुभयो । 

जीबी अध्यक्ष रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाबारे पनि प्रहरीको अनुसन्धान सुरु

काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबारे पनि प्रहरीले अनुसन्धान सुरु गरेको छ । सो सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई हुन् ।  पोखरास्थित सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको छ ।

उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट रेड नोटिश जारी भएको छ । स्वर्णलक्ष्मीबारे अनुसन्धान गर्न सीआईबीले काठमाडौँ प्रहरीलाई पत्राचार गरेको छ । सो पत्राचारसँगै प्रहरी वृत्त कालीमाटीले त्यसबारे अनुसन्धान थालेको हो ।  स्वर्णलक्ष्मी सहकारीमा भएको घोटालाबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए । उनले भने,‘सहकारी विभागसँग स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको विवरण मागेका छौँ ।’

गुरुङ र श्रेष्ठले अन्नपूर्ण होटलको २५ प्रतिशत सेयर खरिद गर्दै मालामा अवसर स्थापना

 होटल डेला अन्नपूर्णको १ लाख ४३ हजार ८७२ कित्ता सेयर(२५ प्रतिशत) दुई जना व्यवसायीले खरिद गरेका छन्।  काठमाडौंको दरबारमार्गमा ४२ रोपनी जग्गा भएको होटलमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ र पूर्वमन्त्री तथा व्यवसायी उमेश श्रेष्ठले सो सेयर खरिद गरेका हुन्।

नेपाल ट्रष्टको समेत सेयर रहेको उक्त होटलको सेयर सवा दुई अर्बमा खरिद बिक्री भएको छ।  होटल डेला अन्नपूर्णको सेयर बिक्रीका लागि व्यवस्थापनले नेपाल ट्रष्टलाई पठाएको विवरणअनुसार सेयर र त्यसको मूल्य खुलेको छ। डेला अन्नपूर्णले सेयर सदस्यका रुपमा नेपाल ट्रष्टलाई फागुन ९ गते सो जानकारी गराएको थियो।