जिसी दम्पतीको हत्या भएको १८ दिन वितिसक्दा पनि हत्यारा पत्ता नलाग्नुले घटना रहस्यमय बन्दै

काठमाडौं । पर्वतको जलजला गाउँपालिका-२ मल्लाजको दहमा एक दम्पतीको हत्या भएको १८ दिन पुगेको छ । गत चैत २० गतेदेखि प्रहरीले अनुसन्धान गरेको भए पनि अहिलेसम्म घटनामा संलग्न दोषी पत्ता लागेको छैन ।

चैत १९ गते सोमबार राति स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी ६७ वर्षीय श्रीमती गमला जिसीको हत्या भएको अवस्थामा घरभित्रै शव फेला परेको थियो । घटनाको अनुसन्धानका लागि एक सातादेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली समेत घटनास्थल वरिपरी नै अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक खुमलाल भुसालको नेतृत्वमा २५ जना प्रहरीको टोली घटनास्थलमै खटिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोलीले समेत अुनसन्धानलाई तीव्रता दिएको भए पनि दोषी पहिचान गर्न सकस भइरहेको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय पवर्तका प्रहरी प्रमुख भुसालका अनुसार घटनाबारे प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरेको र अब घटनाको तथ्यको नजिक पुग्न थालेको बताए । ‘प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । सीआईबीको टोली पनि अनुसन्धानमा जुटेको छ’, उनले भने, ‘हत्यारा छिट्टै नै पत्ता लगाइनेछ ।’

भुसालका अनुसार प्रारम्भिक अनुसन्धान हेर्दा लुटपाटका लागि हत्या भएको हुनसक्ने देखिएको छ । ‘घटनाको प्रकृति हेर्दा लुटपाटका लागि हत्या भएको देखिन्छ । हत्यामा एक जनाभन्दा धेरै प्रयोग भएको पनि देखिएको छ । त्यसको अनुसन्धान गरिराखेका छौं,’ डिएसपी भुसालले भने ।

अनुसन्धानका क्रममा अहिलेसम्म आफन्तजन, घर वरिपरी र उनीहरूका घर परिवारसँग जोडिएका सबै गरी दुई सय जनाभन्दा बढीसँग सोधपुछ गरिएको भुसालले बताए । दम्पतीको हत्या भएको दुईहप्ता वितिसक्दा पनि हत्यारा पत्ता नलाग्नुले घटना थप रहस्यमय भएको जलजला गाउँपालिका-२ का वडाध्यक्ष प्रकाश जिसीले बताए । घरमा ती दम्पती मात्रै बस्दै आएका थिए ।

दुई छोरा वैदेशिक रोजगारीका लागि कोरिया र अर्का छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका थिए । उनीहरूको हत्या योजनावद्ध र पेशेवर चोरबाटै भएको जस्तो प्रकृतिको रहेको पनि प्रहरीले जनाएको छ । साथमा मोबाइललगायत अन्य कुनैप नि उपकरण नबोक्नु, दम्पतीको हत्या गर्न घरेलु हतियार र काठ प्रयोग गरेको देखिनु जस्ता कुराले घटना रहस्यमय बनेको छ ।