विश्व बैंकले भन्यो : नेपालको अर्थतन्त्र सुधारोन्मुख

विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउँदै चालू आर्थिक वर्षमा तीन दशमलव तीन प्रतिशत आर्थिक वृद्धिदर कायम रहने प्रक्षेपण गरेको छ ।

पाँच महिनाअघि बैंकले यो वृद्धि तीन दशमलव नौ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो । बैंकले आज आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आगामी आवमा देशको आर्थिक वृद्धि चार दशमलव ६ प्रतिशत हुने प्रक्षेपण पनि गरेको छ । 

पर्यटन सेवा र औद्योगिक क्षेत्रको योगदानसहित ऊर्जा र विप्रेषणको क्षेत्रमा भएको सुधारलाई आधार मानेर बैंकले उक्त प्रक्षेपण गरेको हो । आर्थिक परिदृश्य सार्वजनिक गर्दै मालदिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदाद जर्भोशले पुँजीगत खर्च विस्तार, व्यावसायिक मनोबल  वृद्धि र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता वृद्धि र गरिबी घटाउन भएका प्रयास सराहनीय रहेका बताए। 

उनले रोजगारी सृजना, व्यापारमा खुलापनको वृद्धि, व्यावसायिक वातावरण र संस्थाहरूको सुधार, वित्तीय क्षेत्रको प्रतिबन्ध फुकुवा, शैक्षिक सुधार र महिला अधिकारको कानुनी संरक्षणको सुदृढीकरण गर्न सुझाए । उनले रोजगारी वृद्धि र उत्पादन बढाउन तथा जलवायु अनुकूलनमा सार्वजनिक लगानीका निम्ति आधार तयार गर्न आवश्यक भएकामा जोड दिए ।  नेपालले आर्थिक विकासका निम्ति गरेको सुधार सराहनीय रहेको भन्दै देशीय निर्देशक जर्भोशले तीन तहकै सरकार मिलेर निजी लगानी प्रवर्द्धनमा सघाउनुपर्ने बताए ।