संविधानको प्रावधानअनुसार प्रहरी कर्मचारी समायोजन

काठमाडौँ। गृह मन्त्रालयले संविधानको प्रावधानअनुसार प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको स्पष्ट पारेको छ । 

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरेर पाँच सदस्यीय प्रहरी कर्मचारी समायोजन समितिले काम थालनी गरिसकेको जानकारी दिए ।

प्रहरी समायोजनसम्बन्धी काम सम्पन्न गर्न प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव सहसंयोजक तथा प्रहरी नायब महानिरीक्षक, मन्त्रालयका उपसचिव र प्रहरी कर्मचारी प्रशासन शाखाका उपसचिव सदस्य रहेको पाँच सदस्यीय समिति क्रियाशील रहेको मन्त्रालयले जनाएको छ ।  

प्रवक्ता भट्टराईले संविधान र प्रहरी समायोजन ऐन, २०७६ बमोजिम प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन गरी सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको पनि बताएका छन् ।