ओलीलाई हामीले घर पठायौंं: बरिष्ठ अधिवक्ताहरु

काठमाण्डौ, असार ३१ । नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूहरुको मेहनतले घर पठाएको शेर बहादुर देउवाको पक्षमा बहस गरेका कानुनविद्हरुले बताएका छन् ।

ओली सत्ताच्यूत भई देउवाले सत्ता सम्हालेको भोलीपल्टै देउवाको पक्षमा बहस गरेका बरिष्ठ अधिवक्ताहरुले बुधबार सो कुरा बताएका हुन । ओलीलाई कसैले घर पठाउन नसकेपछि अदालतमा बहस गरेर आफूहरुले उनलाई सत्ताबाट विदाई गरेको उनीहरुको दावी छ ।

बरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेतीद्धारा लिखित अन्तर्य एक संघर्षशिल जीवनको कथा नामक पुस्तकको नेपाल बार एशोसिएशनको सभाहलमा बुधबार भएको लोकार्पण कार्यक्रममा रिट निवेदकको तर्फबाट बहस गरेका बरिष्ठ अधिवक्ताहरुले ओलीलाई आफूहरुले तह लगाएको दावी गरेका हुन ।

‘आफ्नै पार्टीले, संसदले, विपक्षी दलहरुले समेत गर्न नसकेको काम हामीहरुले गरेका छौं’, पूर्वमहान्यायाधीवक्ता समेत रहेका बरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले भने, ‘कानुन व्यवसायीको काम कति महत्वपूर्ण रहेछ र कुन ढंगको भूमिका कानुन व्यवसायीले निर्वाह गर्नुपर्दाेरहेछ भन्ने यसबाट स्पष्ट हुन्छ ।’

कार्कीले आफूहरुकै कारणले ओली आज घर फर्किन बाध्य भएको दावी गरे ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वर खतिवडा र डा आनन्दमोहन भट्टराई सम्मिलित ५ सदस्यीय संवैधानिक इजलासको असार २८ को फैसलाले ओली सत्ताच्यूत भएका हुन । युगान्तकारी मानिएको फैसला न्यायाधीश ईश्वर खतिवडाले लेखेका हुन भने रिट निवेदक र विपक्षी दुवैतर्फ दर्जनौ कानुनविद्हरुले बहस गरेका थिए भने चारजना एमिकस क्युरीले समेत बहसमा भाग लिएका थिए ।

सबैतिरको अन्यायको भारी बोक्नुपर्ने भएकाले कानुन व्यवसायीले आफ्नै व्यक्तिगत र पारिवारिक पीडाहरुको समेत खुलेर चर्चा गर्न र महशुस सम्म पनि गर्न नभ्याउने पनि कार्कीले बताए । पुस्तकको विषयमा उल्लेख भएको लेखकको अनुभवको चर्चा गर्दै पदासिन व्यक्तिहरुले आफूहरुलाई नगन्ने गरेको तर मुद्दा पर्दा भने आफूहरुको महत्व बुझ्न उनीहरु बाध्य हुने संकेत पनि कार्कीको थियो ।

पुस्तकमा लिखित राजनीतिक पाटोहरुको व्याख्या गर्दै बरिष्ठ अधिवक्ता शम्भु थापाले कानुन व्यवसायीहरुका विभिन्न सामाजिक उत्तरदायित्वहरु रहेको बताए ।

कानुन व्यवसायी नै सबै कुराको उद्बोध गर्ने भएकाले नै कानुन व्यवसायीलाई समाजमा सामाजिक अभियन्ता मानिएको थापाको भनाई थियो ।

घोस्ट राइटि नेपालले प्रकाशन गरेको सो पुस्तकमा बरिष्ठ अधिवक्ता उप्रेतीका व्यक्तिगत जीवन, राजनीतिक जीवन, पेशागत जीवन र न्यायपालिकाको सुधारका विषयहरु समेटिएका छन् । उप्रेतीले एमालेको ओली गुटभित्र निकै नै ठूलो आतंक रहेको र सुवास नेम्बाङहरुकै कारण न्यायालयमा कमसल व्यक्तिहरुले अवसर पाएको दावी पनि गरेका छन् ।

९५ बर्षी बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले कानुन व्यवसायीमा सुधारका कुराहरु उठाउने अभ्यास विस्तारै विकास हुन थालेको बताउ‘दै पेशा चलाउने र धनी हुने प्रवृत्ति त्यागेर कानुन व्यवसायीहरुले न्यायालय सुधारका लागि अघि बढनुपर्ने बताए ।

‘पहिला धेरै नै मेहनत गरेर काम गर्ने र समाज सेवा गरेपछि मात्रै विधिवेत्ता बन्न सकिन्छ’, भण्डारीले भने,‘पैसा कमाउने भन्दा धेरै ठूलो सेवा सुधारका कामहरुबाट हुन्छन् ।’

बरिष्ठ अधिवक्ता भण्डारीलाई पुस ५ मा ओलीले गरेको पहिलो प्रतिनिधि सभा विघटनको मुद्दामा बहस गरेको भन्दै ओलीले बाजे वकिललाई समेत बहसमा लगेछन् भनेर सार्वजनिक रुपमा गिज्याउने काम गरेको भन्दै ओलीको चौतर्फी आलोचना भएको थियो । ओलीको सो भनाईप्रति देशैभरका कानुन व्यवसायीहरुले गम्भीर ढंगले आपत्ती जनाएका थिए ।