के माधव नेपालले देउवालाई पनि गद्दारी गर्न सक्छन् ?

काठमाडौँ । आफ्नै पार्टीको दुई तिहाई बहुमत र आफ्नै दलका अध्यक्ष प्रधानमन्त्री भएको सरकार ढाल्न विपक्षीसँग मोर्चाबन्दी गरेका माधव नेपाल अहिले कुनै गठबन्धनलाई नचिन्ने बताउँदै छन् । उनीनिकट नेताहरु पनि विपक्षी गठबन्धनसँग आफ्नो साइनो सम्बन्ध नभएकाले सरकारमा पनि जनाने बताइरहेका छन् ।

माधव नेपाल समूहका २६ जना एमाले सांसदहरुको हस्ताक्षर भएका कारण कांग्रेस सभापति शेरबहादुर देउवालाई अदालतले प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । ती २६ मध्ये २३ जना देउवाकै पक्षमा हस्ताक्षर गरी अदालतसमेत पुगेका थिए । तर, अहिले आफूहरु एमालेमा मिसिइसकेकाले एमाले संस्थापनले जे निर्णय गर्छ, त्यही मान्छौँ भन्दै नेपाल खेमाले गद्दारीको संकेत गरेको छ ।

देउवालाई नेपाल खेमाको समर्थन नरहने संकेत देखिएपछि नयाँ सरकार नबन्दै शंकाको बादल मडारिन थालेको छ । ३० दिन नपुग्दै यो सरकार ढल्ने त होइन भनेर चौतर्फी चासो व्यक्त भइरहेको छ । किनभने, प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत पाउन नसकेमा सरकार स्वतः ढल्छ ।

देउवा संविधानको धारा ७६ उपधारा ५ बमोजिमका प्रधानमन्त्री हुने भएकाले सरकार ढले पनि तत्कालै सिंहदरबार छाड्नुपर्ने वा अर्कोलाई सत्ता हस्तान्तरण गर्नुपर्ने बाध्यता भने हुने छैन । उनले ६ महिनाभित्र चुनाव भने गराउनुपर्नेछ । त्यो भनेको आगामी मंसिरभित्रै चुनाव हुने सुनिश्चितता भने संविधानले खोज्छ ।

यद्यपि, माधव नेपाल व केपी ओलीले चाहँदैमा देउवालाई गद्दारी गर्न सक्ने ठाउँ भने देखिँदैन । एक त देउवालाई विश्वास दिन्छु भनेरै लिखित हस्ताक्षर गरेर राष्ट्रपति कार्यालयमा आफै पुगेर नेपालले बुझाएका छन् । अदालतमा पनि उनी हस्ताक्षर बोकेर देउवाका साथ पुगेका छन् । यसरी हिजो समर्थन गरेर आज धोका दिनु मूलतः नैतिकताविपरीत हुन्छ ।

देउवालाई समर्थन दिन्छु भनेर हस्ताक्षर गरेर अदालतमा बुझाएको र त्यसै आधारमा अदालतले पनि परमादेश जारी गरेकाले अब यो केवल राजनीतिक र नैतिक बाध्यता मात्र रहेन । माधव नेपालले देउवालाई समर्थन गर्नुपर्ने कानुनी बाध्यता समेत सिर्जना भएको छ । यदि नेपाल खेमाले देउवालाई समर्थन नगरी बीचैमा धोका दिएमा अदालतको अवहेलना ठहरिन सक्छ ।

माधव नेपालले ओलीलाई शक्तिच्यूत बनाउने औजारका रुपमा मात्र देउवालाई दिएको समर्थनपत्रको प्रयोग गर्ने हो भने योभन्दा ठूलो गद्दारी र निम्नकोटिको राजनीति अरु केही हुने छैन । पार्टीभित्र ओलीविरुद्ध गद्दारी गरेका नेपालले देउवालाई समेत धोका दिएमा अब उनको बचेखुचेको राजनीतिक अस्तित्व पनि समाप्त हुनेछ । एमाले त उनले समाप्त पारिसकेका छन् ।

ओलीले प्रतिनिधि सभा सिध्याए, प्रतिगमन गरे भन्दै आदि इत्यादि आरोप लगाएका माधव नेपालले देउवालाई पनि समर्थन नदिने हो भने ओलीमाथि ती आरोप लगाउनुको पनि अर्थ रहने छैन । यो देशमा अस्थिरताका सबभन्दा ठूला कारक माधव नेपाल नै ठहरिनेछन् । आफ्नो कुनै अडान नभएका, गद्दारीका नमुना भनेर नै इतिहासमा उनको नाम पढिनेछ ।

यो पनि पढनुस 

एमालेको खरानीमा उभिएर माधव नेपालको लाल सलाम |

https://barnanmedia.com/detail/1591516462-l-b-lu-xp