दीप बस्न्यातलाई सुविधै सुविधा, थुना बस्नु नपर्ने, अदालत धाउनु नपर्ने

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख एवं बालुवाटार जग्गा घोटाला प्रकरणका एक मुख्य अभियुक्त दीप बस्न्यातलाई अदालतले एकपछि अर्को सहानुभूति र सुविधा दिन थालेको छ । केही समयअघि सर्वोच्च अदालतले उनलाई थुनामा बस्नु नपर्ने आदेश दिएको थियो भने अहिले अदालत पनि धाउनु नपर्ने र घरै बसीबसी मुद्दा लड्न पाउने सुविधा विशेष अदालतले नै दिएको हो ।

विशेष अदालतले मंगलबार ललिता निवासको सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाएको अभियोग लागेका अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई वारेस राखेर मुद्दा लड्न पाउने अनुमति दिएको हो । न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, शान्तिसिंह थापा, चन्द्रबहादुर सारुको इजलासले बस्न्यातले कसैलाई वारेस राखेर मुद्दा लड्ने अनुमति दिने मंगलबार आदेश गरेको हो।

अदालतमा विचाराधीन भ्रष्टाचार मुद्दामा बस्न्यातले आफ्नो एकजना प्रतिनिधि राखेर मुद्दा लड्न पाउनेछन्। विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की लगायतको इजलासले यसअघि मंसिर २८ मा बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाए पनि सर्वोच्चले छाडिदिएको थियो । आफू बिरामी भएको र थुनामा राख्नु गलत भएको उनले सर्वोच्च अदालतमा निवेदन दिएपछि गत वैशाख २५ मा सर्वोच्चले बस्न्यातलाई ५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश गरेको थियो। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले विशेष अदालतको आदेश बेरीतको देखिएको भन्दै धरौटीमा छोड्न आदेश गरेको थियो। जबकि बस्न्यातविरुद्ध अख्तियारले ९ करोड ६५ लाख रुपैयाँ बिगो माग गरी २०७६ माघ २२ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा बनाएको आरोपमा तत्कालीन तीन मन्त्री, तीन सचिव, जग्गाधनी, जग्गा बकस लिने १८ जना र कर्मचारीसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।