कृष्ण सिटौलाको छिर्के दाउ कति सफल होला ?

कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा कृष्णप्रसाद सिटौलाले निकै ढिलो गरी सभापतिको उम्मेद्वारीबारे चर्चा चलाएका छन् । उनले धक फुकाएर घोषणा वा दावी गर्न भने सकेका छैनन् । वर्तमान सभापति शेरबहादुर देउवादेखि उनकै समकालीन रामचन्द्र पौडेल र दोस्रो पुस्ताका सशांक कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला, कल्याण गुरुङसम्मले सभापतिको उम्मेदवारी घोषणा गरिसक्दा पनि जोखना हेरेर बसेका सिटौलाले १४ औँ महाधिवेशनको तयारीलाई लिएर मंगलबार मात्र बत्तीसपुतलीस्थित सम्पर्क कार्यालयमा आफूपक्षीय नेताहरुसँग छलफल गरेका छन् ।
छलफलमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, शिव हुमागाईं, विघटित प्रतिनिधिसभाका सांसद भीमसेनदास प्रधानलगायत उपस्थित थिए ।

त्यस्तै, उनीनिकट भ्रातृ संस्थाका पदाधिकारीहरू पनि थिए । सिटौला समूहका केन्द्रीय सदस्य गगन थापा र प्रदीप पौडेल भने छलफलमा थिएनन् ।

सिटौलाले १४ औं महाधिवेशनमा पनि आफ्नो समूहलाई एकीकृत राखेर अगाडि बढ्ने रणनीति बनाएको देखिन्छ । उनले पार्टीमा बेग्लै अस्तित्व देखाउन यसअघि पनि आफू सभापति र गगन थापालाई महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए । दुवैले पराजय बेहोरे । सिटौलाले सभापतिको पहिलो चरणबाटै बाहिरिनुपरेपछि दोस्रो चरणमा भित्री मोलमोलाइ र लेनदेनपछि देउवालाई समर्थन गरेका थिए ।

यसपालि उनको यस खालको पसल पनि खासै चल्ने देखिँदैन । किनभने, अघिल्लो महाधिवेशनमा जस्तो तेस्रो उम्मेदवार सिटौला मात्र हुने देखिन्न । उनकै सिको गरेर अरु पनि केही उम्मेदवार मैदानमा देखिने भएका छन् । त्यसो हुँदा देउवा वा उनका निकटतम प्रतिद्वन्द्वीसँग मोलमोलाइ गर्ने अरु पनि उम्मेदवार हुनेछन् । अर्थात्, सिटौला एक्लो निर्णायक रहने छैनन् ।

यसपालि अर्को अप्ठेरो के छ भने विगतको उनको समूह अहिले एकढिक्का छैन । स्वयं गगन थापा र प्रदीप पौडेलजस्ता युवा नेता देउवाविरोधीहरुको एउटै सिंगो मोर्चा बनाउने प्रयासमा छन् । संस्थापनइतरको बृहत् मोर्चा भए मात्र देउवालाई हराउन सकिने भन्दै उनीहरुले मोर्चाबन्दीको प्रयास गरिरहेका हुन् । यो प्रयास सम्भव भएमा सिटौलाले या त पहिला नै सभापतिको दावी छाड्नुपर्नेछ, नभए गगन र प्रदीपहरुले उनको साथ छाड्नेछन् ।

यद्यपि, देउवाका विरुद्धमा बृहत् मोर्चाको प्रयास सजिलै सम्भव हुने भने देखिँदैन । दोस्रो वा तेस्रो तहमा यसबारे एकमत भए पनि मूल नेतृत्वका लागि भने यस समूहमा झन् ठूलो झगडा छ । एकले अर्कालाई नस्वीकार्ने नेतृत्व पंक्तिका कारण देउवाविरोधी मोर्चाको प्रयास जुनसुकै बेला तुहिन सक्छ । यो अवस्थामा गगन वा अरु केही प्रभावशाली नेताहरु इतरको पंक्ति त्यागेर देउवाकै खेमाबाट उम्मेदवारी दिन सक्नेछन् । त्यसो भएमा पनि सिटौला नै मारमा पर्नेछन् ।

मंगलबारको छलफलमा सिटौलाले आफू सभापतिको उम्मेदवार भएको भन्दै महाधिवेशनको तयारीमा जुट्न सहयोगीहरुलाई निर्देशन दिएका थिए । उनको भनाइ थियो, ‘म सभापतिको स्वाभाविक उम्मेदवार हो । १३ औं महाधिवेशनभन्दा यतिबेला हाम्रो क्षमता पनि बढेको छ । साथीहरु महाधिवेशनको तयारीमा लाग्नुस् ।’

यति भनिरहँदा उनले आफ्नो खेमाको एक्लै तागतले महाधिवेशन प्रतिनिधि वा अरु विभिन्न समितिमा निर्वाचित हुन सम्भव नभएको पनि स्वीकार गरे । त्यसैले जोकोहीसँग मिलेर भए पनि आफ्नो सिट सुरक्षित गर्न उनले निर्देशन दिए ।

मूल्य र सिद्धान्तको राजनीति गर्नेले यस्तो निर्देशन दिन सक्दैन । जब मान्छे सिद्धान्तहीन हुन्छ, अनि जसरी हुन्छ आफ्नो स्वार्थ मात्र हेर्छ । मूल्यको राजनीति गर्नेले जित मात्र हेर्दैन, हार्न पनि तयार हुन्छ । हारमा पनि जित खोज्छ । तर, सिटौला कुनै विचार वा सिद्धान्तका लागि नभई केवल मोलमोलाइ र आफ्नो बेग्लै अस्तित्व जताउन यो गरिरहेको देखिन्छ ।
अझ सिटौला पार्टीको आन्तरिक संगठनमा प्रभाव वा निजी व्यक्तित्वका कारण राजनीतिमा स्थापित भएको मान्नेहरु निकै कम छन् । उनका पक्षमा बाह्य शक्तिको आशिर्वाद रहेको मान्नेहरु धेरै छन् । त्यसैले महाधिवेशन वा अरु कुनै अवसरमा उनको सहयोगमा कसलाई जिताउनुपर्ने हो वा कसलाई बलियो बनाउनुपर्ने हो, उसैको खेमातिर सिटौलालाई अदृश्य शक्तिले उभ्याउने गरेको मानिन्छ । हुन पनि धेरैवटा घटनाक्रमले यसलाई पुष्टि पनि गरेको छ ।

राष्ट्रिय राजनीतिमा माओवादीको मूलप्रवाहीकरणसँगै सिटौलाको पनि कांग्रेसमा मूलप्रवाहीकरण भएको थियो । एक समय त यस्तो पनि थियो, उनलाई कांग्रेसभित्रका माओवादी भनेर चिनिन्थ्यो । गएको महाधिवेशनमा उनी र गगन थापालाई बेग्लै प्यानल बनाएर चुनावमा उभ्याएपछि माथिको आशंकालाई अरु धेरैले विश्वास गर्न थाले । यसपालि पनि सिटौला कतातिर उभिन्छन् भन्ने कुराले नेपाली राजनीतिमा बढी नै प्रभाव राख्ने अदृश्य शक्तिले कसलाई साथ दिँदै छ भन्ने कुराको जनाउ दिनेछ भनेर कांग्रेसीहरुले नै चर्चा गरिरहेका छन् ।

जे होस्, एउटा यस्तो यथार्थ अहिलेसम्म छिपेको छैन कि सिटौला आफू बन्नेभन्दा पनि कसैलाई बनाउने गरी जन्मेका वा जन्माइएका पात्र हुन् । पहिलोपल्ट उनले सभापतिमा उम्मेदवारी दिँदा कांग्रेसमा उहिल्यैदेखि रहेको ट्रोइका सिद्धान्तमा रहेर आफूलाई तेस्रो नेताका रुपमा उभ्याउन खोजेका हुन् कि भन्ने अड्कल काटिएको थियो । जस्तो कि कुनै बेला बीपी कोइराला, सुवर्णशमशेर र सूर्यप्रसाद उपाध्यायलाई ट्रोइका भनिन्थ्यो । पछि गणेशमान सिंह, कृष्णप्रसाद सिटौला र गिरिजाप्रसाद कोइरालालाई ट्रोइका भन्न थालियो । तर, अहिले देउवा, रामचन्द्र र सिटौलालाई ट्रोइका भनिँदैन । किनभने, सिटौलाले न आफ्नो स्वतन्त्र व्यक्तित्व बनाउन सके, न त वैकल्पिक नेतृत्वका रुपमै आफूलाई उभ्याउन सके ।
कांग्रेसका केन्द्रीय नेताहरुको भिडमा उनी पनि एउटा मामुली सदस्य मात्र बन्न पुगे । बरु सिटौलाभन्दा गगन र प्रदीपहरुले आफ्नो बेग्लै अस्तित्व र व्यक्तित्व स्थापित गर्न सकेका छन् । तसर्थ, सिटौलाको छिर्के दाउ यसपालि खासै सफल हुने देखिँदैन । यही कारण उनले खुलारुपमा उम्मेदवारी पनि घोषणा गर्न सकेका छैनन् ।