कांग्रेस महाधिवेशन : देउवाको सभापतित्व निधिले चलाउने !

काठमाडौँ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीको कुर्सीका लागि भिक्षापात्र लिएर सर्वोच्च अदालतका दैलातिर नजर पसारिरहेका बेला बाँकी सारा कांग्रेसीको ध्यान भने आगामी महाधिवेशनमा केन्द्रित भएको छ । शीर्ष पंक्तिमै पनि सभापतिमा उम्मेदवारी घोषणा गर्ने होड चलेको छ ।

सभापतिमा दावी गर्नेमा स्वयं देउवादेखि रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, कल्याण गुरुङ, शेखर कोइराला, सशांक कोइराला, कृष्ण सिटौलासम्मै छन् । महाधिवेशन आउन अझै करिब दुई महिना बाँकी रहेकाले यो संख्या थपघट भई नै रहनेछ ।
यति हुँदाहुँदै पनि यी सबैलाई थाहा छ, अन्तिममा प्रतिस्पर्धा हुने दुईजनाको बीचमा हो । सुरुमा जतिले उम्मेदवारी घोषणा गरे पनि मनोनयन दर्ता गर्दासम्म तीन वा चारजना हुनेछन् । पहिलो प्रतिस्पर्धा जति जनाको बीचमा भए पनि विधानअनुसार दोस्रो चरणमा प्रथम र द्वितीयको बीचमा प्रतिस्पर्धा हुनेछ र तीमध्ये एकजना सभापति छानिनेछन् ।

अहिले संस्थापन पक्षबाट देउवा र निधिले सभापतिमा दावी गरेका छन् । दुवैले दुवैलाई एकअर्काको सहयोगमा सभापति जित्ने बताएका छन् । कसैले पनि प्रतिद्वन्द्विताको संकेत गरेका छैनन् ।
उनीहरु दुवै संयमित तवरले नै चुनावी अभियान चलाइरहेका छन् । कार्यकर्तासँगको भेटघाट र सम्पर्क दुवैले बढाइरहेका छन् । सक्रियताका हिसाबले निधि अगाडि देखिन्छन् । यो उनको बाध्यता पनि हो । उनले साँच्चै सभापतिमा लड्ने नै सोच बनाएका हुन् भने अझै बढी सक्रियताको खाँचो पर्छ । देउवाले भन्दा बढी नै पापड बेल्न सक्नुपर्छ उनले ।

संस्थापन इतर खेमाभित्र आकांक्षी धेरै भएको हिसाबले हेर्दा देउवा केही बढी सुविधाजनक ठाउँमा छन् । तर, निधिले आफू जित्न नसके पनि देउवालाई हराउन पर्याप्त भूमिका खेल्न सक्छन् । त्यस्तै निधिले त झन् देउवाको समर्थन वा सहयोगबिना सभापति त के, अरु कुनै पदमा पनि जित्ने सम्भावना कम हुन्छ । त्यसर्थ पनि यी दुवैले एकअर्काको अपरिहार्यता बुझेका छन् र एकले अर्कालाई अस्वीकार गरेका छैनन् ।
समग्रमा हेर्दा निधिको जोडबल सकेसम्म देउवालाई सभापतिभन्दा माथिल्लो स्थानमा राख्ने, प्रधानमन्त्री बनाउन सहयोग गर्ने र पार्टी आफूले सम्हाल्नका लागि रहेको देखिन्छ । निधिले आफ्नो प्रथम नेता देउवालाई नै मानेको देखिन्छ । देउवा स्वयंले सभापतिमा नउठी नछाड्ने र निधिको प्रस्तावमा सहमत नभए अन्तिममा निधिसँग देउवालाई सघाउनुको विकल्प पनि हुनेछैन । देउवासँग टक्कर लिएर अघि बढ्ने मन:स्थितिमा निधि देखिँदैनन् । यो कुरा उनले बूढानीलकण्ठका बैठकमा पनि संकेत गरेका छन् । उनले देउवाको सहयोगमा मात्र आफू नेतृत्वमा दावी गर्ने स्पष्ट पारेका छन् ।

निधि र देउवा एक ठाउँमा रहेसम्म कांग्रेसमा अरु कसैले पनि नेतृत्व हात पार्ने सम्भावना कमजोर छ । त्यसमाथि प्रकाशमान सिंह र सशांक कोइरालाबीच कसले छिटो देउवासँग गठबन्धन गर्ने र उपसभापति पद हात पार्ने भन्ने अघोषित प्रतिस्पर्धा देखिएको छ । त्यसो त गगन थापाले समेत आफू महामन्त्रीमा सुरक्षित बन्नका लागि देउवाकै आड लिन चाहेको बुझिन्छ । तर, देउवा शिविरमै यी पदका लागि पर्याप्त नेताहरु रहेकाले कसको व्यवस्थापन कसरी हुन्छ भन्ने अहिले नै यकिन गरेर भन्न मुस्किल छ ।

बाँकी पदहरुमा जसरी भागबण्डा र गठबन्धन गरे पनि देउवाको कार्यकारी हैसियत वहन गर्न सक्ने नेता निधि नै हुनेछन् । त्यसैले देउवा प्रधानमन्त्री भएपछि निधिले कार्यकारी सभापतिका रुपमा पार्टी सञ्चालन गर्नेछन् । अहिलेदेखि नै सभापतिमा दावी गरिरहँदा अर्को महाधिवेशनसम्म उनी देउवा खेमाबाट स्वत: दावेदार पनि बन्नेछन् । अर्को कार्यकाल देउवाले सभापतिमा उम्मेदवारी दिन नपाउने भएकाले पनि निधिले त्यो स्थान अहिले नै सुरक्षित गर्ने चलाखी पनि गरेको देखिन्छ ।