निधिलाई देउवाले पाखा लगाएपछि अझै आक्रामक : गगन थापा देखि शशांक र प्रकाशमानसम्मको गठबन्धन बनाउने निधिको कसरत

कांग्रेस सभापति शेर बहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई आसन्न १४औँ महाधिवेशनमा पाखा लगाउन खोजेपछि चुनाव पेचिलो हुने देखिएको छ । निधिले पार्टीको सभापतिका लागि सक्रियता बढाएका छन । महाधिवेशनको मिति टुंगो लागेलगत्तै सभापति शेरबहादुर देउवाले नेताहरूसँग सभापतिमा दोहोरिने इच्छा राखेपछि निधिले पनि सक्रियता बढाएका हुन । देउवा आफूनिकट नेताहरूसँग छलफल गरिरहेका छन । तर, निधि भने संस्थापनइतर समूहका नेताहरूसँग छलफलमा जुटेका छन ।

सभापतिमा देउवा आफैँ अघि सरेको अवस्थामा निधि सभापतिको उम्मेदवारमा टिकिरहन्छन् या छोड्छन ? अहिले सबैको चासोको विषय बनेको छ । तर, निधिले पनि आफूले सभापतिको दाबी नछाड्ने बताएका छन । निधि देउवाले नसघाएको अवस्थामा संस्थापनबाट आफूनिकटलाई लिने र संस्थापनइतर समूहको समर्थन बटुलेर अघि बढ्नेमा देखिएका छन् ।

शनिबार देउवासमक्ष निधिले आफूले कसैलाई पनि नछाड्ने भनेपछि देउवानिवासमा सोमबारसम्म त्यही विषय चर्चाको विषय बन्यो । अधिकांश केन्द्रीय सदस्यहरूले देउवासँगको छलफलमा उपसभापति निधिलाई मिलाएर संस्थापनतर्फबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार बन्न सुझाब दिएका छन । विद्यार्थी राजनीतिदेखि पार्टी विभाजन भएर एक्लिएको अवस्थामा समेत आफूसँगै रहेका निधिको चुनौतीले देउवामाथि दबाब परेको छ ।

महेन्द्रनारायण निधिको उत्तराधिकारीका रूपमा मधेसबाट उदाएका निधि संस्थापन समूहमा उपसभापति मात्रै होइनन्, देउवाको समेत उत्तराधिकारी मानिन्छन । तर, अहिले उनी सभापतिको दाबी गर्दै गर्दा उनको पछि एकजना पनि केन्द्रीय सदस्य उभिएका छैन । ‘अहिले कोही खुलेका छैनन्, तल्ला तहको अधिवेशन सकिँदै गर्दा माहोल बन्छ, त्यसपछि खुल्ने रणनीति छ, हामीसँग राम्रै संख्या र समर्थन छ,’ निधिनिकट स्रोतले भन्यो ।

देउवापछि ०३६ सालमा नेविसंघको सभापति बनेका निधि नेता कृष्णप्रसाद भट्टराईनिकट मानिन्थे । तर, भट्टराईकै लिगेसीमा देउवाले गुट तयार गरेपछि निधि उनीसँगै रहे । पार्टी फुटाएर कोइरालाहरूसँग छुटिएपछि देउवालाई निरन्तर बलियो साथ दिनेमध्ये निधि एक थिए । देउवाले विभाजनकै वेला निधिलाई महामन्त्री पनि बनाए । तर, एकतापछि १२औँ महाधिवेशनमा महामन्त्री उठेका निधि प्रकाशमान सिंहसँग पराजित भए । निधिप्रति त्यहीकारण अधिकांश केन्द्रीय सदस्यहरूले उदारभाव र सद्भाव प्रस्तुत गरेका छन ।

गगन थापा देखि शशांक र प्रकाशमानसम्मको गठबन्धन बनाउने निधिको कसरत
निधिले सोमबार महामन्त्री डा.शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह र त्यसपछि युवा नेताहरूसँग छुट्टा–छुट्टै भेटवार्ता गरेका छन । आफ्नो वैवाहिक वर्षगाँठको सन्दर्भमा निधिले कोइराला र सिंहलाई बानेश्वरस्थित आफ्नै निवासमा बोलाएर महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल गरेका हुन । निधिको सचिवालयका अनुसार दिउँसो साढे १२ देखि साढे २ बजेसम्म तीनजनाबीच गोप्य छलफल भएको छ ।

सोमबारको भेटमा निधिले १४औँ महाधिवेशनमा आफू सभापतिमा लड्ने भन्दै सहयोगका लागि कोइराला र सिंहसँग प्रस्ताव गरेका थिए । जवाफमा कोइराला र सिंहले पनि सभापतिका लागि सहयोग मागेका थिए । तर, भेटपछि तीनैजना नेताहरू १४औँ महाधिवेशनबाट नेतृत्व पुस्तान्तरण हुनुपर्नेमा भने एकमत भएका छन । त्यसका लागि आवश्यक सहकार्यका लागि छलफललाई निरन्तर राख्ने सहमतिसमेत गरेका छन ।
फरक–फरक समूहमा भए पनि कांग्रेसका संस्थापक नेतात्रय बिपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका छोराहरूको यो भेटवार्तालाई कांग्रेसभित्र महत्वका साथ हेरिएको छ ।

भेटमा समसामयिक राजनीतिक विषयहरूमाथि छलफलपछि उपसभापति निधि, महामन्त्री कोइराला र नेता सिंहले विपक्षी गबठन्धनका तर्फबाट सभापति देउवालाई प्रधानमन्त्री बनाउन सकेसम्म पहल गर्ने सहमति गरेका छन ।

उपसभापति निधिले सोमबारै युवा नेताहरूसँग पनि सभापतिका लागि आफ्नो दाबी रहेको भन्दै छलफल गरेका छन् । निधिले युवा नेताहरूसँग पुरानो बानेश्वरस्थित अनुपम फुडल्यान्डमा छलफल गरेका हुन । भेटमा नेताहरू दिपक गिरी, चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, गुरुराज घिमिरे, प्रदीप पौडेल, बद्री पाण्डे, जीवन परियार र सरिता प्रसाई सहभागी थिए । ‘म सभापति पदमा लड्दै छु, तपाईंहरूको कुरा के छ, तयारी के छ ? मैले सभापतिजीसँग पनि प्रस्ताव गरिसकेँ, अरू नेताहरूसँग पनि छलफल गरिरहेको छु । मैले सबैलाई आफ्नो कुरा राखिरहेको छु । मलाई सहयोग गर्नुप¥यो,’ निधिले भनेका थिए ।

उनले पुरानो नेतृत्व र एजेन्डाबाट अब कांग्रेस अघि बढ्न नसक्ने भन्दै नयाँ पुस्ता र युवाले नेतृत्व सम्हाल्ने वेला आएको बताएका छन । निधिले सभापति देउवालाई आफूले पटक–पटक सघाएकाले अझै पनि सहयोगको अपेक्षा रहेको बताए । ‘म यसपटक पछि हट्ने मनस्थितिमा छैन, म अघि बढिसकेँ । फेरि यो अहिलेको तयारी होइन, अघिल्लो महाधिवेशनदेखिकै तयारी हो,’ निधिले भनेको उद्धृत गर्दै सहभागी एक नेताले भने, ‘११औँ महाधिवेशनदेखि नै मैले सभापतिजीलाई सहयोग गर्दै आएको हुँ । १३औँ अधिवेशनमा आएर उहाँले मलाई १४औँ महाधिवेशनमा तपाईं सभापतिको उम्मेदवार हो भन्नुभएकै हो । त्यहीअनुसार मैले उहाँलाई प्रस्तावक भएर मलाई सभापति बनाउन आग्रह गरेको छु । तपाईंहरूले पनि सहयोग गर्नुप¥यो ।’
निधिले अब पार्टीको नेतृत्वमा परीक्षण भइसकेका देउवा, पौडेल र सिटौलालाई स–सम्मान बिदाइ गर्नुपर्ने र नयाँ पुस्ताले नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए । ‘उहाँ पहिले यसरी प्रस्तुत हुनुभएको पाएको थिइनँ । निकै कन्फिडेन्स देखिनुभयो । उहाँको दाबी र कुराहरू सुन्दा उहाँले पनि छाड्ने अवस्था देखिएन,’ एक केन्द्रीय सदस्यले भने, ‘उहाँको पनि उम्मेदवारी भयो भने यसपालि उम्मेदवारको संख्या धेरै हुन सक्ने सम्भावना बढेको छ ।’ निधिले क्रमशः अरू नेताहरूसँग पनि छलफल गरेर अघि बढ्ने बताएका छन ।

उपसभापति निधिले गत वर्ष पहिलोपटक १४औँ महाधिवेशनका मिति तोकिएपछि सभापतिका लागि संस्थापनइतर समूहका नेताहरूसँगको भेट बढाएका थिए भने गत २९ साउनमै देउवालाई भेटेर आफूलाई पार्टीको सभापति बनाउन आग्रह गरेका थिए । तर, महाधिवेशन नहुने अवस्थामा पुनः उनी देउवासँगै चुपचाप बसेका थिए ।

गत शनिबार सभापति देउवाले बोलाएर आफूले पुनः सभापति बन्नुपर्ने अवस्था आएको बताएपछि निधिले पनि आफ्नो दाबी अघि सारेका हुन । भेटमा निधिले १४औँ महाधिवेशनमा आफूलाई सभापति बनाउन आग्रह गरेका थिए । जवाफमा देउवाले पनि यसपटक आफ्नो अन्तिमपटक भन्दै आफूलाई सघाउन आग्रह गरे ।
महाधिवेशनको मिति टुंगो लागेलगत्तै संस्थापन समूहमा नेतृत्वका विषयलाई लिएर हल्लाखल्ला चलेको छ । तर, सभापति देउवाले महाधिवेशन गर्न चासो नदेखाएको आरोप लगाउने संस्थापनइतर समूह महाधिवेशनको मिति तोकेपछि भने मौन बसेको छ । आइतबार गृहजिल्ला तनहुँबाट फर्किएका वरिष्ठ नेता रामचन्द्र पौडेल अझै आन्तरिक रणनीति बनाउनमै छन । महाधिवेशनकै सन्दर्भमा सोमबार पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । स्रोतका अनुसार यही साता मात्रै कोइराला र सिंहबीच यो तेस्रो भेट हो । पौडेल समूहबाट पौडेलसहित महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा.शेखर कोइराला सभापतिमा दाबी गर्दै आएका छन । एक नेताका अनुसार संस्थापनबाट देउवा र निधि दुवैजनाले उम्मेदवारी दिने र नदिने अवस्थामा इतर पक्षका नेताहरूको पनि छुट्टा–छुट्टै रणनीति छ ।