आफ्नै समूहबाट एक्लिएपछि माधव नेपाल अत्तालिए, एक्लैले गरे वार्ता भंग भएको घोषणा

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी र सरकारबाट गलहत्याउन खोजेका नेता माधव नेपाल उल्टै एक्लिँदै गएपछि अत्तालिन थालेका छन् । आफ्नै सहयोगीहरुले समेत साथ छाडेर ओलीसँग सहमतिनिकट पुगेपछि नेपाल झन् अत्तालिदै गएका हुन् ।

नेपाल पक्षका प्रभावशाली नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतले ओलीसँग तीनबुँदे सहमतिको खाका तयार गरेका छन् ।

पहिलो नम्बर बुँदामा पार्टीका सबै संरचना २०७५ जेठ २ को अवस्थामा फर्काउने उल्लेख छ । दोस्रो नम्बरमा नेकपा एमालेको अन्तरसंघर्षका समयमा भएका विवाद बिर्सिने र भएका कारबाही फिर्ता गर्ने लेखिएको छ । तेस्रो बुँदामा एमाले एकतासँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको समर्थन स्वत: फिर्ता हुने उल्लेख गरिएको छ ।
यसैलाई अन्तिम रुप दिने गरी मोटामोटी सहमति भइसकेको छ । यसमा केही प्राविधिक पक्ष कसरी मिलाउने भनेर सोमबार राति अबेरसम्म दुवै पक्षका नेताहरुबीच बालुवाटारमा वार्ता भएको थियो । वार्ताबाट दुवै पक्ष उत्साहित रहेको स्रोतको भनाइ छ।

बालुवाटारमा सहमतिको खाकाले अन्तिम रुप पाउँदै गर्दा कोटेश्वरबाट माधव नेपालले एकतर्फी रुपमा वार्ता भंग भएको घोषणा गरे । उनले फेसबुकमा लेखेका थिए-

कर्णाली प्रदेशका सांसद एवम् पार्टीका नेताहरूमाथि विधानविपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ । स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो।

सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्त्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ ? सहजै देख्न सकिन्छ। असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकताविरोधी तत्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु।

सोमबार फेसबुकमा अनौपचारिक वार्ता र संवादका बारेमा यस्तो टिप्पणी गरेका माधव नेपालले आइतबार मात्र यस्ता प्रयासबारे कुनै जानकारी नभएको र अब यस्ता प्रयासको कुनै अर्थ नरहेको बताएका थिए । आफूनिकट युवा संघले गरेको कार्यक्रममा उनले सुरेन्द्र पाण्डेलगायत आफूनिकट नेताहरुका प्रयासलाई अर्थहीन भन्नुको अर्थ हुन्थ्यो कि उनी एकताको पक्षमा थिएनन् ।

त्यसो त प्रधानमन्त्री ओलीले पनि माधव नेपाल र भीम रावलबाहेकका नेतालाई मात्र पार्टीमा स्वागत गर्ने मानसिकता बनाएका छन् । नेपालनिकट सबै प्रभावशाली नेता र मातहतका कार्यकर्ता पार्टीमा फर्किने भएपछि ओली झन् उत्साहित भएका छन् । पार्टी एकतापछि प्रतिपक्षी नेता शेरबहादुर देउवाको दावी झनै कमजोर हुनेछ । स्वयं देउवा पनि सरकारमा जानभन्दा आफ्नो पार्टीको महाधिवेशन सफल बनाउन र आफ्नो नेतृत्वलाई नवीकृत गर्न बढी प्रयासरत छन् ।