पानीले चिसो बनाएको मौसममा कांग्रेसी चुनावले तातिदैं : देउवालाई निधिले चुनौति दिदाँ संस्थापन इत्तरमा सभापतिमा १० जनाको दावी !

कोरोना संक्रमणले मुलुक लकडाउनले सुनसान भइरहेको छ । बाढी पहिरो र झरी मुलुकको मौसम चिसो छ । तर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन केन्द्रित छलफललाई तिव्रता दिएसँगै कांग्रेसमा चुवावी माहोल तताई दिएका छन।

देउवाले दोस्रो कार्यकालका लागि सभापतिमा दोहोरिने रणनीतिका साथ तयारीलाई तीव्रता दिँदै छलफल सुरु गरेपछि १४औं महाधिवेशनले कांग्रेसी नेताहरूलाई सक्रिय बनाएको हो ।

देउवाले उम्मेदवारी घोषणा गरेपनि बाँकी को कुन टिमबाट सभापतिमा दावी गर्छन भन्ने अहिलेसम्म टुंगो लागेको छैन । देउवाकै टिम भित्र पनि एउटै उम्मेदवार बन्ने अवस्था छैन । संस्थापन इत्तरसमूहमा झनै एकदर्जन हाराहारीले दावी गरिरहेका छन् । संस्थापन इतर समूहबाट करिब १० जनाले सभापति पदमा अकांक्षा देखाएका छन् ।संस्थापन पक्षबाट देउवाको दोहोरिने तयारी त छँदैछ। त्योबाहेक १३औं महाधिवेशनमा सघाएका उपसभापति विमलेन्द्र निधिले समेत सभापतिमा लड्ने तयारी गरेका छन् । यस्तै संस्थापन इतर समूहबाट करिब १० जनाले सभापति पदमा अकांक्षा देखाएका छन् ।

विमलेन्द्र निधिले देउवाको राजनीतिक यात्रामा लामो समयदेखि साथ दिँदै आएका छन् । कांग्रेसमा कोइरालाहरूविरुद्धको संघर्ष गर्दा होस् वा पार्टी विभाजन गरेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा नै किन नहोस्, निधिले देउवाको साथ छोडेका थिएनन् ।

अप्ठ्यारो अवस्थामा पनि साथ नछोडेका निधिले १३औं महाधिवेशनमा देउवालाई सभापति जिताउन महत्वपूर्ण भूमिका निभाएका थिए। सभापति निर्वाचित भएपछि देउवाले निधिलाई पार्टीको उपसभापतिमा मनोनित गरे ।लामो राजनीतिक यात्रामा सँगसँगै हिडेका निधि र देउवा १४औं महाधिवेशनमा प्रतिस्पर्धी बन्लान ? कांग्रेसवृत्तमा यो चासोको विषय बनेको छ।

शनिबारको छलफलका क्रममा सभापति देउवा र उपसभापति निधिबीच भएको सवालजवाफ विश्लेषण गर्दा सभापतिको उम्मेदवारबाट पछि हट्ने पक्षमा निधि नरहेको एक सहभागीले बताएका छन् । दुवै नेताहरू एकअर्काका प्रतिस्पर्धी हुने सम्भावना बलियो देखिएको देउवा निकटकै ती नेताको टिप्पणी छ।
शनिबार देउवाले आफू सभापतिमा लड्ने र प्रतिनिधि प्रदेश २ बाट धेरै प्रतिनिधि ल्याउन निधिलाई आग्रह गरेका थिए। तर, निधिले आफू पनि सभापतिमा लड्ने जवाफ फर्काएका थिए ।

निधिले यसअघि पनि देउवालाई आफू सभापतिमा लड्ने जानकारी गराएका थिए। सार्वजनिक रूपमै निधिले सभापतिमा लड्ने आकांक्षा प्रकट गर्दै आएका थिए। देउवा निकट नेताहरुका अनुसार पहिलो चरणमा देउवा र निधि एकअर्काको प्रतिस्पर्धी हुने सम्भावना धेरै छ। तर, दोस्रो चरणमा भने निधिले देउवालाई समर्थन गर्ने अपेक्षा देउवाले गरेका छन् ।

कांग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन खसेको मतको ५१ प्रतिशत ल्याउनुपर्ने व्यवस्था छ। संस्थापनबाहेकको समूहबाट धेरै अकांक्षी रहेको अवस्थामा देउवा समूहबाट पनि दुई अकांक्षी हुँदा ५१ प्रतिशत मत ल्याउने सम्भावना कम रहन्छ। १३औं महाधिवेशन देउवा, वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सभापति पदमा निर्वाचन लडेका थिए। पहिलो चरणमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणमा देउवा र पौडेल मात्रै प्रतिस्पर्धामा थिए। सिटौलाको सहयोगमा देउवाले दोस्रो चरणमा सभापति जितेका थिए।
इतर समूहबाट को?

संस्थापन पक्षबाट दुई जना सभापति पदका आकांक्षी भएपनि संस्थापन समूहमा त्योभन्दा बढी आकांक्षी छन्। देउवालाई पार्टी नेतृत्वबाट हटाउनुपर्नेमा इतर समूह एकमत भएपनि उसले सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार तय गर्न संभावना कम छ। वरिष्ठ नेता रामचन्द्र पौडेल पुनः एकपटक सभापति लड्न चाहन्छन् ।त्यसका लागि उनले अनामनगरमा सम्पर्क कार्यालय खोलेर तयारी अघि बढाएका छन् ।
यस्तै डा रामशरण महत, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीसमेत सभापतिका आकांक्षी देखिएका छन् । यद्यपि, देउवाले आइतबार बागमती प्रदेशका केन्द्रीय सदस्यहरुसँग गरेको छलफलमा सिटौला निकटका नेताहरुले सिटौलालाई कार्यवाहक सभापति बनाए सभापति लड्न सहयोग गर्ने बताएका छन् । सिटौला निकट नेता भीमसेनदास प्रधानले देउवालाई भनेका थिए, ‘सिटौलालाई कार्यवाहक सभापति दिनुस्, यसो गर्दा तपाईले दोस्रो राउन्डमा जित्ने सम्भावना रहन्छ। नत्र तपाईंले जित्नुहुन्न।’युवा नेताद्वय गगन थापा र कल्याण गुरुङले समेत सभापतिमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन् ।

महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालाले सार्वजनिक रूपमै सभापति लड्ने बताइसकेका छन् । शेखर कोइरालाले देश दौडाह गरेर सभापतिका लागि यसअघि नै तयारी तीव्र बनाएका थिए। कोइराला परिवारबाटै सुजाता कोइरालाले समेत सभापतिमा आकांक्षा देखाएकी छन् ।
यस्तै युवा नेताद्वय गगन थापा र कल्याण गुरुङले समेत सभापतिमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन् । देउवाको विकल्प खोज्ने र १४औं महाधिवेशनबाट पार्टी नेतृत्व फिर्ता ल्याउने अभियानमा रहेको संस्थापनबाहेकको समूहले सर्वसम्मतरुपमा साझा उम्मेदवार चयन गर्ने सम्भावना छ त? इतर समूहका नेताहरुको जवाफ छ– त्यो सम्भावना न्यून देखिन्छ ।