कांग्रेसमा अबको नेतृत्वबहस: सभापतिमा उम्मेदवारी घोषणाले देउवा समूहमा खैलाबैला !

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो महाधिवेशनपछि आफू फेरि पनि सभापतिमा उम्मेदवारी दिने बताएसंगै बुढानिलकण्ठमा हलचल भएको छ । आफू निकटस्थ केही नेता बोलाएर तयारी गर्न निर्देशन दिएपछि देउवालाई साथ दिदैं हिडेका बिमलेन्द्र निधी, बालकृष्ण खाँड देखि विश्वप्रकाश शर्मा समेत देउवासंग शसंकित भएका छन ।

देउवाले शनिवार आफ्नै निवासमानिकटका केही नेताहरुसँगको छलफलमा सभापति देउवाले संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने र आफू फेरि पनि सभापतिमा लड्ने बताएका थिए । आफ्नै कार्यकालमा ३ तहको चुनाव भएको र प्रतिनिधिसभामा लोकप्रिय मत सबैभन्दा बढी पाएको भए पनि कम जितेको भन्दै उनले आफूले सभापति उठेर जित्ने समेत दावी गरेका छन् ।

छलफलमा नेताहरु मीन विश्वकर्मा, सुनिल थापा, ज्ञानेन्द्रबहादुर कार्की, डा. डिला संग्रौला, सुजाता परियारलगायत नेताहरुमात्रै बोलाएका थिए । पहिलो चरणमा निधीलाई बोलाए पनि अन्तिम चरणको छलफल देउवा आफूनै सभापतिको उम्मेदवार भएकोले समर्थन गर्न नसक्ने जनाउ दिएर बाहिरिएका थिए ।
निधी भन्छन देउवालाई छाड्ने अवस्था छैन।

पार्टी फुटको अवस्था देखि जिवनभर साथ दिएका बिमलेन्द्र निधी यसपटक आफै सभापतिको उम्मेदवार बन्ने यसघिनै घोषणा गरेका छन् । निधीलाई खवरनै नगरी सभापतिका पुनः उम्मेदवारी घोषणा गरेपछि निधी मात्रै नभएर देउवा खेमा प्रभावशाली अन्य नेताहरु पनि रिसाएका छन् । यसअघि सार्वजनिक खपतका लागिमात्र आफू सभापति बन्ने बताउँदै आएका सभापति देउवाले शनिबारदेखि भने औपचारिक अभ्यास थालेका हुन् ।
उनले आफ्नो अभ्यास प्रदेश केन्द्रित गर्दै प्रदेशका केन्द्रीय नेताहरु बोलाएर महाधिवेशन अभियान थाल्न सुझाव दिएका छन् । सभापति देउवाले शनिबार प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का आफूपक्षीय केन्द्रीय नेताहरुलाई निवासमा बोलाएर सभापतिमा पुनः चुनाव लड्न लागेको जानकारी दिँदै त्यसका लागि आ–आफ्ना तर्फबाट सहयोग गर्न आग्रह गरेका हुन् ।

सभापति देउवाले आ–आफ्ना प्रदेशबाट बढीभन्दा बढी महाधिवेशन प्रतिनिधि ल्याउन अहिलेदेखि नै अभियान थाल्न आग्रह गरेका छन् । ‘‘अहिले वडास्तरमै राम्रो गृहकार्य नगरे क्षेत्रीय प्रतिनिधि छनोटपछि महाधिवेशन प्रतिनिधि छनोट सहज नहुने र त्यसको प्रभाव केन्द्रीय महाधिवेशनमा पर्छ,’’ देउवासँगको भेटमा सहभागी प्रदेश १ का एक केन्द्रीय सदस्यले भने, ‘‘त्यसैले स्थानीय तहका वडाबाटै अभियान मजुबत पार्न आवश्यक छ । तपाईंहरु लाग्नुस्, मैले के गर्नुपर्छ त्यो म गर्छु ।’’

देउवाले पार्टी व्यवस्थापन आफूलेजस्तो अरुले गर्न नसक्ने भन्दै समूहको स्वार्थका लागि पनि सबैले लाग्नुपर्ने अवस्था रहेको बताएका थिए ।तर, देउवाको सभापति बन्ने औपचारिक अभियानको थालनी गर्दा ‘पहिलो गासमै ढुंगा’ लागेजस्तो भएको छ ।सभापति देउवाले थालेको अभियानमा उनका सबैभन्दा निकटस्थ र १३ औँ महाधिवेशनमा निर्णायक भूमिका खेलेका नेता विमलेन्द्र निधिले सभापति लड्ने निर्णयमा पुनर्विचार गर्न सुझाव दिएका छन् ।

‘‘सभापतिमै फेरि उमेदवारी दिने विषयमा निर्णय गरिसक्नुभएको हो भने पुनर्विचार गर्नुस्,’’ निधिसहित देउवासँगको भेटमा सहभागी एक कांग्रेस केन्द्रीय सदस्यले निधिको भनाई उद्धृत गर्दै भने, ‘‘तपाईं प्रधानमन्त्रीको दौडमा हुनुहुन्छ । त्यसमा म सहयोग गर्ने छु, सभापतिमा मलाई सहयोग गर्नुस् ।’’ त्यसोभन्दा देउवाले सभापति लड्ने आफ्नो निर्णय नै भइसकेको भन्दै त्यसबाट ‘ब्याक’ हुने कुनै सम्भावना नरहेको बताएका थिए । त्यसोभन्दा आफू पनि चुनावको तयारीमा लागिसकेको भन्दै निधिले देउवालाई यसपटक आफूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

‘‘सभापति लड्ने नै हो भने त्यो तपाईंको अधिकारको कुरा हो, लड्नुस्,’’ देउवाको भनाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘‘तर, म आफ्नो निर्णयबाट ब्याक हुन्न ।’’ त्यसपछि निधिले देउवालाई आफ्नो सहकार्य र सहयोगबारे सम्झाउँदै त्यसलाई नभुल्न आग्रह गरेका थिए ।‘म लामोसमयदेखि तपाईंसँगको सहकार्यमा छु, त्यस हिसाबले तपाईंको सहयोग माग्ने मेरो अधिकार नै हो,’’ निधिको भनाई उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘‘तपाईंकै आशीर्वाद लिएर म सभापति लड्न चाहन्छु । तपाईंले यो कुरालाई राम्रैसँग ध्यान दिनु हुनेछ ।’’

यति भनिसकेपछि निधि सभापति देउवासँग बिदा लिएका थिए । देउवाले निधिलाई थप केही भन्न खोजेको संकेत गर्दै गर्दा निधि बाहिरिएको ती केन्द्रीय सदस्यले बताए ।अघिल्लो पटक शेरबहादुर देउवालाई जसरी पनि एकपटकका लागि सभापति बनाउने घोषणा गरेका निधिले निर्णायक भूमिका खेलेका थिए ।

आफूसहित देउवा पक्षबाट कोही पनि महामन्त्री नलड्ने र अर्को समूहबाट महामन्त्रीको उमेदवार खोजी गरी सभापतिमा जिताउने निधिकै घोषणाले देउवा पक्षका आकांक्षी व्यवस्थापन सम्भव भएको थियो । त्यही अडानबाट कोइराला समूहमा रहेका नेता अर्जुननरसिंह केसीलाई महामन्त्री उमेदवार बनाएर तान्न सफल भएपछि सभापतिमा देउवाको सफलता हात लागेको थियो ।

निकटस्थले पनि देउवालाई गराए सचेत देउवाका अन्य निकटस्थले पनि सहयोग गर्ने आश्वासन र जितका लागि ढुक्क हुने आग्रह नगरी देउवालाई सचेत गराएका छन् ।प्रदेश नम्बर १ का केन्द्रीय नेताहरुको भेलामा देउवाका मुख्य सहयोगीहरुले नै टिम व्यवस्थान नगरे अवस्था सहज नहुने भन्दै सचेत गराएका हुन् ।
प्रदेश १ का नेताहरु ज्ञानेन्द्रबहादुर कार्की, भिष्मराज आङदम्बे, मीन विश्वकर्मा र सीता गुरुङलेसमेत टिम व्यवस्थापन भए ढुक्क हुन सकिने अवस्था रहेको भन्दै पहिलो टिम व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका थिए ।देउवाका निकट सहयोगीमध्येका ज्ञानेन्द्रबहादुर कार्कीले पहिला टिम व्यवस्थापन गरेर मैदानमा उत्रिन सुझाव दिएको भेटमा सहभागी एक नेताले बताए ।

केन्द्रीय सदस्य मीन विश्वकर्माले त उपसभापति विमलेन्द्र निधिले पनि सभापति लड्ने घोषणा गरेको भन्दै त्यसका विषयमा पनि आधिकारिक धारणा बुझ्न र अघि बढ्न आग्रह गरेका थिए ।