सभापतिमा उठ्ने देउवाको तयारीले निधिलाई धोका!

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पुनः सभापतिमा उठ्ने सभापति शेरबहादुर देउवाको घोषणाले पार्टीभित्र तरङ्ग उत्पन्न गराएको छ । उनले यसका लागि आफ्नो टिमका केन्द्रीय नेताहरुसँग छलफल अघि बढाएका छन्।

यसै क्रममा सभापति देउवाले शनिबार आफू पक्षीय केही केन्द्रीय नेताहरुलाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर छलफल शुरु गरेका छन्। प्रदेशका केन्द्रीय नेताहरुलाई बोलाएर उनले आफू पुनः एक पटक सभापतिमा उठ्ने र त्यसका लागि आ आफ्नो प्रदेशबाट अधिकतम महाधिवेशन प्रतिनिधि ल्याउन भनेका छन्।

दिउँसो प्रदेश नं २ का नेताहरुसँगको छलफलमा पनि सभापति देउवाले आफू पुनः सभापतिमा उठ्न लागेकोले त्यसका लागि वातावरण बनाउन आग्रह गरेका थिए। दिउँसो ३ बजे देउवा निवास बुढानीलकण्ठ पुगेका उपसभापति विमलेन्द्र निधिसँग सभापति देउवाले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।

बिहान प्रदेश नं १ का नेताहरुसँग कुराकानी गरेका देउवाले दिउँसो प्रदेश नं २ का नेताहरुसँग छलफल गरेका थिए। स्रोतका अनुसार बिहानको छलफलमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले महाधिवेशनमा जानुअघि टिमभित्र सहमतिको वातावरण बनाउनु पर्नेमा जोड दिएका थिए।

उपसभापति निधिले देउवासँग सभापतिमा आफूले पनि उम्मेदवारी दिने बताएका थिए। यसअघि पनि आफूले सभापतिमा चुनाब उठ्ने भनेर सभापतिसँग भनेको स्मरण गराउँदै निधिले भने, ‘तपाई सभापति होइन, प्रधानमन्त्रीका लागि अग्रसर हुनुस्, म आफूले सहयोग गर्छु। सभापतिमा तपाईंको समर्थनमा म अघि बढ्छु।’ उनले आफू सभापति देउवाको उम्मेद्वार भएर चुनाब उठ्न चाहेको बताएका थिए।

स्रोतका अनुसार जवाफमा देउवाले ‘लड्ने भए लड्नुस्, त्यो तपाईंको अधिकार हो’ भनेका थिए। निधिले भने आफू लामो समयदेखि टिममा रहेको र देउवासँगको लामो संगतका कारण सभापतिमा उठ्दा समर्थन माग्ने आफ्नो अधिकार भएको बताएका थिए। निधिले सभापति देउवालाई सभापतिमा चुनाव लड्ने तयारीबारे पुनर्विचार गर्नका लागि आग्रह गरेका थिए।

देउवाले भने निधिलाई अर्को पटक सभापति लड्न आग्रह गरेका बताइएको छ। आफूपछि आफ्नो टिममा निधि नै सिनियर नेता भएकोले १५ औं महाधिवेशनमा समर्थन गर्ने देउवाले आश्वासन दिएका थिए। १३ औं महाधिबेशनमा सभापति देउवाले १४ औं महाधिबेशनमा आफ्नो टिमबाट सभापतिको उम्मेद्वार निधिलाई नै बनाउने बचन दिएका थिए।

त्यसो त कोराइराला परिवारबाट पनि सभापतिमा उम्मेवारी आउन सक्ने आकलन गरिएको छ। बरिष्ठ नेता रामचन्द्र पौडले, कृष्णप्रसाद सिटौला लगायतका नेताहरु आगामी महाधिवेशनबाट पार्टीलाई नेतृत्व गर्न सक्ने नेता चाहिने बताइरहेका छन् । उनीहरु पनि देउवाको विकल्प खोजिरहेका छन् । तर अहिले नै साझा उम्मेदवार तय गर्न सकेका छैनन् ।