एमाले एकताको अघोषित सर्त: मा माधव नेपाल र भीम रावललाई प्रवेश निषेध !

काठमाडौँ । नेकपा एमालेमा पुनर्मिलनका प्रयास भइरहँदा माधव नेपाल र भीम रावलका लागि भने त्यति सुखद खबर छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले अरु सबै नेता कार्यकर्तालाई नि:शर्तरुपमा पार्टीमा स्वागत गर्ने तर माधव नेपाल र भीम रावललाई स्वीकार गर्न नसकिने संकेत गरेका छन् ।

दुवै खेमाका दोस्रो तहका नेताहरुबीच एकताका विषयमा सघन गृहकार्य भइरहँदा ओलीले नेपाल र रावलबाहेकका हकमा मात्र कुरा गर्न निर्देशन दिएको बुझिएको छ । पछिल्लो विवरणअनुसार, असन्तुष्ट समूहका धेरै नेताहरु एमालेमै फर्क राजी भइसकेका छन् । उनीहरुलाई पुरानै वा सोसरहको मर्यादा र जिम्मेवारी दिन पनि ओली तयार भएका छन् । यसका लागि ओलीले कुनै सर्त नराख्ने र विभेद पनि नगर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

छलफलमा सहभागी नेताहरुका अनुसार, अहिले पार्टी एकताका लागि ओलीसँग दुईवटा मात्र सर्त छन् । एक, एमालेमै बस्न राजी रहेका पूर्वमाओवादी नेताहरुलाई माओवादीसँग एकता हुँदाकै अवस्थाको जिम्मेवारी र मर्यादा दिनुपर्ने । दुई, माधव नेपाल र भीम रावललाई प्रवेश निषेध गर्नुपर्ने ।

यिनै दुई नेताका कारण पार्टीमा भाँडभैलो भएको, प्रचण्डसँगको एकता भाँडिएको र पार्टी एवं सरकारले समेत निकै सकस बेहोर्नुपरेको ओलीको बुझाइ छ । ओली पक्षधर कतिपय नेताहरुले नेपाल र रावललाई ओली र एमालेलाई सिध्याउन कुनै ठूलै शक्तिकेन्द्रले परिचालन गरेको हुन सक्ने आशंका समेत संस्थापनले गरेको छ ।

असन्तुष्ट पक्षका नेताहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, अष्टलक्ष्मी शाक्य लगायतले पार्टीलाई विभाजनबाट जोगाउनका लागि नेपाललाई पनि सम्मानजनक ठाउँमा राख्न सकिन्छ कि भनेर संस्थापनसमक्ष प्रस्ताव राखेका छन् । उनीहरुले पार्टी एकता हुँदाकै विधानलाई आत्मसात् गर्ने र त्यसमा दुई अध्यक्षात्मक प्रणाली भएकाले नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका छन् । अध्यक्ष नै नभने पनि पार्टीको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने गरी सोसरहको पद वा मर्यादा दिन सकिने सुझाव पनि नेपाल पक्षधर नेताहरुले दिएका छन् ।

प्रधानमन्त्री ओलीले भने नेपाल र रावलको नामसमेत सुन्न चाहेका छैनन् । अहिले पनि विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हिँडेको, केन्द्रदेखि प्रदेशसम्मै आफ्नै पार्टीको सरकार ढाल्न लागेको लगायत कारण नेपाल र रावलप्रति ओलीको रिसको पारो घटेको छैन ।

पार्टीको विरुद्धमा दुस्मनीपूर्ण व्यवहार गरेकाले नेपाल र रावललाई कुनै न कुनै रुपमा दण्डित गर्नैपर्ने अडानमा ओली देखिन्छन् । यसो नगरेमा पार्टीभित्र अनुशासनहीनता र अराजकता झन् मौलाउने ओलीको बुभाइ छ । यति मात्र होइन, उनीहरुमाथि कारवाही नगरे पार्टीलाई पनि न्याय नहुने भन्दै ओली दाह्रा किटेर बसेका छन् । जुनसुकै अवस्थामा, जसले केपी ओलीलाई समाप्त पार्ने र गलहत्याउने षडयन्त्र गरेका थिए, तिनले त्यसको फल चाख्नैपर्ने ओलीको अडानका कारण दुई खेमाबीचको एकतामा पनि ढिलाइ भइरेको छ । अदालतले प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री नियुक्तिका विवादमा दोस्रो चरणको सुनुवाइ सुरु गर्नुअघि नै एमाले एकताको छिनोफानो नभएमाचाहिँ अहिलेसम्मको प्रयास निरर्थक हुनेछ ।