कांग्रेस महाधिवेशन : निषेधाज्ञा अवधिलाई शून्य समय मानेर सार्ने बहानाबाजीमा देउवा पौडेल समूह भन्छ : मान्य छैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कोभिड १९ को महामारीका कारण मुलुकभर गरिएको निषेधाज्ञालाई शून्य समय मानेर संवैधानिक व्यवस्था मिच्दै पार्टीको १४ औं महाधिवेशन सार्ने रणनीतिमा लागेका छन् ।

त्यही तर्क अघि सार्न पार्टी पदाधिकारी बैठकले सिफारिस गरेको आगामी भदौ १६ देखि १९ भदौसम्म महाधिवेशन गर्ने प्रस्तावलाई बिहीबारको बैठकले पास गरेन । सभापति देउवा र संस्थापन पक्षमा नेताहरूले शून्य समय मान्ने प्रस्ताव ल्याएपछि नेता रामचन्द्र पौडेल पक्षीय नेताहरूले भने विरोध गरे । जसका कारण बैठकले कुनै निर्णय गर्न सकेन ।    

संस्थापन पक्षका नेता मीन विश्वकर्माले मानव निर्मित समस्या नभएकाले लकडाउनलाई शून्य समय मानेर महाधिवेशन पर सार्न सकिने दाबी गर्छन् । ‘हाम्रो गम्भीर परिस्थिति कोभिड र बाढी पहिरो हो। कोभिडका कारण भेला हुन पाएनौं। समयमा तल्लो तहका अधिवेशन गर्न सकिने अवस्था रहेन’, विश्वकर्माले  भने, ‘फौजदारी मुद्दामा थुनामा रहेका तर अदालतमा सुनुवाइ हुन नपाएका कतिपय मुद्दामा कोरोनाको समयलाई शून्य समय भनि अदालतले व्याख्या गरेको छ । अदालतमा, मालपोतमा दूरसञ्चारमा शून्य समय लागू हुन्छ भने कांग्रेस पार्टीका लागि पनि लागू हुनसक्छ ।’

देउवा र संस्थापन पक्षका नेताहरू भने निषेधाज्ञाको अवधिलाई शून्य समय मानेर त्यस बराबरको अवधिमा महाधिवेशन गर्नलाई अदालतले बाटो फुकाइदिनुपर्ने तर्क गरिरहेका छन् ।

तर, पौडेल समूह भने त्यसको विरोध गरिरहेको छ । पौडल समूहका नेता गुरुराज घिमिरे कोभिड तत्काल हट्ने अवस्था नरहेको भन्दै त्यो मान्य नहुँने बताउँछन् । उनले भने, ‘तेस्रो चरणको लहर आउने स्वास्थ्य विज्ञले बताइरहेका छन् । शून्य समय मानेर फेरि अवधि बढाएर कोरोना हट्ने त होइन । महाधिवेशन भदौबाट पर सार्न पार्टीलाई कुनै विकल्प छैन ।’

कांग्रेस महाधिवेशनका कार्यतालिका पटक–पटक प्रभावित हुँदै आएका छन् । यसपटक महाधिवेशनको कार्यतालिका प्रभावित हुनुमा प्रमुख कारक कोभिडलाई मानिएको छ । पार्टी सिर्जित समस्याले महाधिवेशन कार्यतालिका प्रभावित नभएको जिकिर गर्दै नयाँ विकल्पमा जानुपर्ने तर्क पनि विस्तारै कांग्रेसभित्र उठ्न थालेको छ ।

भदौ १९ अघि कांग्रेसको महाधिवेशन गर्नैपर्ने संवैधानिक व्यवस्था छ । पार्टीका कारण सिर्जित समस्या नभएकाले अन्य विकल्प पनि खुला राख्नुपर्ने संस्थापन पक्षका नेताहरुको भनाइ छ । संस्थापनइतरका नेताहरु भदौबाट महाधिवेशन पर सार्न सकिने कुनै विकल्प नरहेको जिकिर गर्छन् ।

नियमित समय २०७६ को फागुनमा महाधिवेशन भएको भए कोभिडले प्रभाव पार्ने थिएन । एकवर्ष अतिरिक्त थपिएसँगै कोभिडले जटिलता थपेको छ । २०७६ को चैत ११ बाट लकडाउन भएसँगै सुरुका तीन महिना पार्टी गतिविधि पूर्ण रुपमा ठप्प रहे । त्यसपछि तय गरिएका महाधिवेशनका कार्यतालिका कोभिडकै कारण कार्यान्वयन हुन सकेका छैनन् ।

अन्य संस्थाहरूले गरेझै प्रदेश र जिल्ला स्तरमा अधिवेशन गरेर भए पनि महाधिवेशन गर्नुपर्ने नेताहरूको तर्क छ । नेताहरूले नेपाल पत्रकार महासंध र नेपाल बार एसोसिएसनको उदाहरण दिएका छन् । नेता गगन थापाले जिल्ला जिल्लामा मतदानको व्यवस्था गरेर केन्द्रमा ल्याएर मत गणन गर्न सकिने विकल्प उपयुक्त हुने बताए ।