माधव नेपालकहाँ धाएर कांग्रेस महाधिवेशन जितिएला र देउवाज्यू ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बाध्यता वा विवशता के हो ? दिनदिनै उनी एमालेबाट कारवाहीमा परेर पार्टीविहीन बन्न पुगेका नेता माधव नेपालकहाँ धाइरहेका छन् ।

उता विधानविपरीत पटकपटक थपिएको म्याद पनि गुजारेर महाधिवेशन सार्दै पार्टीलाई वैधानिकताको संकटमा पुर्याइएको छ । आम कार्यकर्तालाई आफ्नो पार्टीको भविष्य के हुने हो भन्ने चिन्ता छ । युवा कांग्रेसीहरुलाई आफ्नो भविष्य के हुने हो भन्ने आतुरता छ । तर, देउवाको प्राथमिकता महाधिवेशन छैन । मनमा भए पनि व्यवहारमा छैन ।

दुई महिनापछि महाधिवेशन गर्ने नै सुर हुन्थ्यो भने अहिले देउवाको समय प्रचण्ड र माधव नेपालसँग दिनदिनै बैठक गरेर, उनीहरुका दैलादैलामा धाएर सकिने थिएन । उनको समय त पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका कार्यकर्तासँगको सम्पर्कमा खर्च हुनुपर्थ्यो । उनको समय त दसतिर फर्केका नेताहरुलाई एकत्रित गराउन हुनुपर्थ्यो ।

देउवाको प्राथमिकता हुनुपर्थ्यो, पार्टीका दोस्रो पंक्तिबाट जोजो नेताहरु अहिले वा भविष्यमा नेतृत्वका आकांक्षी छन्, तिनीहरुसँग एकल, युगल वा बहुल रुपमा छलफल गरी उनीहरुको भावना समेट्ने । उनीहरुलाई उचित जिम्मेवारीका लागि तयार राख्ने । यो असामान्य परिस्थितिमा महाधिवेशन सम्भव तुल्याउन र सहमतिका साथ नेतृत्व चयन प्रक्रिया अघि बढाउन सहयोगका लागि आग्रह गर्ने ।

उपसभापति विमलेन्द्र निधिदेखि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, शेखर कोइरालालगायतलाई मिलाएर अगाडि लैजान सके देउवा आगामी कार्यकालका लागि पुनःनिर्वाचित हुन सक्छन् र उनको कार्यकाल सम्भव एवं सहज पनि बन्न सक्छ । तर, अहिले देउवा सत्ताको पछाडि कुदेको देख्दा यस्तो लाग्दै छ, उनलाई कार्यकर्ता र दोस्रो पंक्तिका नेतासँगको सम्पर्क टुटाएर रामचन्द्र पौडेल, गगन थापा, कृष्ण सिटौला र प्रकाशमान सिंहरु पार्टी कब्जा गर्न खोज्दै छन् । हिजो जतिखेर सग्लो नेकपाको बहुमत खेमाले साथ दिँदा देउवाले प्रधानमन्त्री पाउने पक्का थियो, त्यतिखेर पार्टीलाई सरकारमा जाने जनादेश नै छैन भनेर रोक्न खोज्नेहरु नै अहिले देउवालाई प्रधानमन्त्री सुर्याउँदै छन् । यसबाट पनि स्पष्ट हुन्छ कि देउवालाई सत्ताको नजितिने लिलिगेमा पठाएर सक्दो बदनाम र कमजोर बनाउने, पार्टीभित्र पनि साख गिराउँदै जाने अनि नेतृत्व कब्जा गर्ने दाउ रचिएको । त्यही चक्रब्यूहमा देउवा जानेर वा नजानेर फस्दै छन् ।

अहिले देउवाका निम्ति कांग्रेसका नेता कार्यकर्ता होइन, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल बढी प्रिय भएका छन् । महाधिवेशनको तयारी होइन, सत्ताको लिगलिगे बढी प्राथमिकतामा परेको छ । दिनदिनै देउवा माधव नेपाल र प्रचण्डकहाँ धाउँछन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निन्दा गर्छन् । आफ्नै पार्टीको मूल्य मान्यताविपरीत अदालत र अरु संवैधानिक निकायलाई धम्क्याउँछन् । कम्युनिस्टहरु विज्ञप्तिको खेस्रा तार गर्छन् । कांग्रेस सभापति त्यसमा सही धस्काउँछन् ।

माधव नेपाल र प्रचण्डकै उक्साहटमा लागेर देउवा सर्वोच्च अदालतका दैलामा एक थान प्रधानमन्त्रीको कुर्सी कृपा होस् भनेर याचिका लिएर पुगे । यतिसम्म त ठीकै थियो, निवेदन दर्ता गरेर फर्किएपछि अहिले देउवाको काम तिनकै कम्युनिस्टहरुको शैलीमा अदालतलाई धम्क्याउने बनेको छ । कम्युनिस्टहरुका धम्कीपूर्ण विज्ञप्तिमा देउवाले सही धस्काइरहँदा उनलाई के यसअघि अदालतको विचाराधीन विषयमा कांग्रेसले बोल्न मिल्दैन भनेर दिएका सार्वजनिक अभिव्यक्तिको याद छ ?

यदि देउवाले कांग्रेसलाई कांग्रेस नै रहन दिने हो र फेरि पनि बलियो कांग्रेसको नेतृत्व गर्न मन छ भने सत्ता होइन, महाधिवेशनको तयारीमा आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्छ । आफ्नै नेताकार्यकर्तासँगको सम्पर्कमा समय खर्च गर्नुपर्छ । होइन भने सत्ताको दौडमा लाग्दा यता कांग्रेसको नेतृत्वबाट चिप्लिने जोखिम बढ्नेछ ।