विपक्षी गठबन्धनलाई थप बलियो बनाउने सहमति, अदालतलाई प्रभावित पार्न नखोजियोस्

काठमाडौं । विपक्षी गठबन्धनलाई थप बलियो बनाउन तीन दलका शीर्ष नेताहरुबीच सहमति बनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा,एमाले नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डबीच सोमबार भएको छलफलमा गठबन्धनलाई थप बलियो बनाउने सहमति भएको हो । छलफलका लागि दुबै शीर्ष नेता कोटेश्वर पुगेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेता नेपाल आफ्नै पार्टीका अध्यक्षबिरुद्ध विपक्षी गठबन्धन बनाएर हिँडेका छन् ।

कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीको रुपमा आगाडि सारेका विपक्षी गठबन्धनले सर्वाेच्च अदालतमा बिचाराधिन मुद्धालाई प्रभावित गर्न सरकारले खोजेको भन्दै अदालतको निष्पक्षतामा र विश्वास प्रभावित पार्ने काम नगर्न ध्यानाकर्षण गराएका छन् । संसद विघटन र देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसहितको मुद्धामा संवैधानिक इजलासमा सुनुवाई हुँदै आएको छ ।

तत्काल सबैलाई पुग्नेगरी कोभिड विरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउनसमेत नेताहरुले माग गरेका छन् ।नेताहरुले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे चासो राख्दै शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका थिए ।विपक्षी गठबन्धनको बैठकमा जसपाको उपेन्द्र बाबुराम पक्षको भने सहभागी थिएनन् । तीन पूर्वप्रधानमन्त्री समेत रहेका नेताहरुले केहीदिन अगाडि सयुक्त विज्ञप्ति जारी गर्दै सरकारले देशमा विदेशी हस्तक्षेपलाई निम्त्याएकोे भन्दै त्यसप्रति सचेत गराएका थिए । पटक पटक सरकारमा रहेका उनीहरुले कसरी विदेशी हस्तक्षेपको गन्ध पाए भन्दै सर्वत्र चासो हुन थालेको छ ।