न्यायाधीशकै बीचमा भिडन्त !

काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज पनि प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइका लागि पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडामा इजलासमा छन् ।

आज पनि विवादको मूल विषयमा इजलास प्रवेश गर्ने सम्भावना कम छ । किनभने, न्यायाधीशद्वय कार्की र भट्टराईको निष्ठा र निष्पक्षतामा सरकारी पक्षले प्रश्न उठाएको छ । यिनै दुईजनाले यसअघि अरु दुई न्यायाधीशका बारेमा निवेदक पक्षले प्रश्न उठाउँदा इजलासमा बस्न नमिल्ने लिखित राय प्रस्तुत गरेका थिए । मुद्दाका झगडियाले प्रश्न उठाउनेबित्तिकै न्यायाधीशले इजलासबाट अलग हुनुपर्ने राय दिइसकेका उनीहरु अब संवैधानिक इजलासमा बस्ने नैतिक आधार छैन । इजलासमा रहेका अर्को न्यायाधीशबारे टिप्पणी गरेर अवहेलनाजन्य राय व्यक्त गरेका कार्की र भट्टराई अहिले आफ्नै कारणले धरापमा परेका छन् ।

कार्की र भट्टराईले १० पृष्ठ लामो आफ्नो राय हिजै तयार गरिसकेका छन् । यसबारे निवेदक पक्षलाई पनि जानकारी भइसकेको वरिष्ठ अधिवक्ता शम्भु थापाले विभिन्न अनलाइनलाई दिएको अन्तर्वार्ताबाट प्रस्ट हुन्छ । अब प्रधानन्यायाधीश र अरु दुईजना न्यायाधीशले के राय दिन्छन् भन्ने कुराले पनि आजको इजलासको परिस्थिति निर्धारण हुनेछ ।

सर्वोच्च अदालत स्रोतका अनुसार, आज निकै अप्रिय परिदृश्यका छनक अस्तिदेखि नै देखिँदै छन् । न्यायाधीश–न्यायाधीशकै बीचमा भिडन्तको स्थितिमा ल्याइपुर्याउने गरी पृष्ठभूमिका घटनाक्रम विकसित भएका छन् । संसारको अभ्यास र हाम्रै न्यायिक इतिहासमा पनि कहिल्यै नभएका घटना अहिले भइरहेका छन् । झगडियाले न्यायाधीश छान्ने, अर्को न्यायाधीशका विषयमा इजलासमै रहेका न्यायाधीशले अवहेलजनाजन्य टिप्पणी गर्ने, भोलि के आदेश आउँदै छ भनेर झगडियाले अघिल्लै दिन अन्तर्वार्तामा बोल्ने, अदालतमा कुनै मुद्दा पर्नेबित्तिकै पूर्वप्रधानन्यायाधीशहरु फैसला गर्न हतारिने । यी सब प्रकरणले न्यायालयलाई इतिहासकै जटिल मोडमा पुर्याइदिएको छ ।