६ जना मन्त्री थप्दै प्रधानमन्त्री ओली : पूर्वमाओवादी नेता बादल, रायमाझी र साह मन्त्रीमा दोहोरिने

काठमाडौं । पार्टी वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहसँग पुनर्मिलन हुने सम्भावना लगभग टरेपछि एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । शुक्रबारसम्म विस्तारको तयारी रहेको बालुवाटार स्रोतले जानकारी दियो ।  

आफूले राखेको ६ बुँदे प्रस्तावमा नेपाल समूह असहमत भएर उल्टै ६ बुँदे जवाफ सार्वजनिक गरेको र माओवादी नेतृत्वको सुदुरपश्चिम सरकारलाई जोगाउन नेपाल समूहले खेलेको भूमिकाबाट एकता टरेको निष्कर्ष प्रधानमन्त्री ओलीले निकालेका हुन् । र, अब मन्त्रिपरिषद् विस्तार गरेर नेताहरूलाई व्यस्त बनाउन लागेको स्रोत बताउँछ ।
ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनःगठन गर्दा नेपाल समूहका नेतालाई तान्न सकिन्छ कि भनेर ७ मन्त्रालय आफूसँग राखेका थिए । तर, नेपाल समूह नआउने निश्चितजस्तै भएपछि विस्तार गर्न लागिएको हो । ओलीले रक्षा आफैसँग राखेर बाँकी ६ मन्त्री नियुक्त गर्न लागेका उनका एक सहयोगीले बताए ।

मन्त्रिपरिषद् विस्तारमा माओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी र प्रभु साहलाई दोहर्याउने छन् । त्यस्तै ओलीका विश्वासपात्रहरू महेश बस्नेत, गोकुल वास्कोटा, विशाल भट्टरार्ई, खगराज अधिकारी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, नारदमुनि राना, शान्ता चौधरी, निरुदेवी पाल, विमला राई पौडेल, किसान श्रेष्ठ, राजेन्द्र राई, कृष्णभक्त पोखरेल, ध्रुव शाही, पार्वती विशुंखेलगायतको नाम चर्चामा छ ।

बस्नेतले भने गृहबाहेक अन्य मन्त्रालयमा नजाने बताएका छन् । जसपा नेता अपरहण देखि विभाजनको बाटोमा पुर्याउन बस्नेतको भूमिका उच्च सम्मान गर्दै प्रधानमन्त्री ओली बस्नेतलाई मन्त्री उपाहार दिन चाहन्छन् । तर राष्ट्रपति विद्यादेवी भण्डारीले बस्नेतलाई गृह दिन नहुने भनेकाले उनको गृहमा जाने सम्भावना नरहेको एमाले नेताहरू बताउँछन् ।