सर्वोच्चमा इजलास राजनीति : इजलासमा प्रश्न उठेका न्यायाधीशद्वय कार्की र भट्टराईले तयार पारे १० पेजको आदेश, भित्रिएलान सिन्हा र राउत ?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरामी परेपछि रोकिएको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाई आजबाट सुरु हुदैं छ । यसअघि सोमबार पेशी तोकिएको हेर्दाहेर्दैमा रहेको मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सन्चो नभएपछि स्थगित भएको थियो । मंगलबार पनि प्रधानन्यायाधीश राणा अदालत उपस्थित हुन सकेनन् ।

प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलास गठन गरी आइतबार सुनुवाइ सुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो ।

इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन । यसअघि शुरुमा रिट निवेदक पक्षका कानुन व्यावासायीहरुले इजलास गठनमा प्रश्न उठाएका थिए भने प्रधानन्यायाधीश राणाले आइतबार इजलास पुनर्गठन गर्दै वरिष्ठताको आधारमा गठन गरेपछि सरकार पक्षले त्यसको विरोध गर्दै आएको छ।

बुधबार इजलासमा सरकारी पक्षले प्रश्न उठाएका न्यायाधीशद्वय दीपकुमार कार्की र आनन्दमोहन भट्टराईले आफ्नो राय पेश गर्ने बताइएको छ। न्यायाधीशद्वय कार्की र भट्टराईले इजलासमा बस्ने÷नबस्ने बारेमा आफूमाथि उठेको प्रश्नमा जवाफ दिने गरी १० पेजभन्दा लामो आदेश तयार पारेका छन् ।

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका सन्दर्भमा आफूमाथि प्रश्न उठेपछि न्यायाधीशद्वय कार्की र भट्टराईले त्यसका लागि दिने राय तयार पारेका हुन् ।

गत आइतबारको सुनुवाइका क्रममा न्यायाधीशद्वय कार्की र भट्टराईमाथि महान्यायाधिवक्ता रमेश बडालसहित प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले प्रश्न उठाएका थिए। वरिष्ठ अधिवक्ता सुशील पन्त र अग्नि खरेलले दुवै न्यायाधीश इजलासबाट अलग हुनुपर्ने तर्क गरेका थिए। दिनभर सरकारी पक्ष र ओलीका कानुन व्यवसायीले बहस गरेपछि निवेदकका तर्फबाट पनि बहस भएको थियो ।

सर्वोच्चमै ११ जना न्यायाधीशले हेर्न नमिल्ने भनी निवेदन दायर भएको र वरियताक्रम अनुसारको इजलास गठन गर्दा समेत समाधान नभएपछि प्रधानन्यायाधीश राणाले अबको विकल्प के निकाल्छन् र कसरी सुनुवाइ अघि बढ्छ भन्ने प्रश्न उठेको छ । न्यायाधीश कार्की र भट्टराई अलग भएमा राणाले उनीहरुको स्थानमा अन्य दुई न्यायाधीश रोष्टरबाट ल्याउन सक्नेछन् ।

कार्की र भट्टराईले इजलासबाट अलग हुनुपर्ने कारण नभएको राय सुनाएमा र सबै न्यायाधीशले सहमति जनाएमा सोही इजलास अघि बढ्नेछ। इजलासमा रहेका अरु न्यायाधीशहरुले सहमति नजनाएमा भने नयाँ इजलास गठन हुनुपर्ने छ। यसरी इजलास गठन गर्नुपर्दा अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत इजलासमा पर्नेछन् ।
मन्त्रिपरिषद्को यही जेठ ८ को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माग गर्दै ३० रिट निवेदन दायर भएका छन् ।

विपक्षी गठबन्धनका अधिवक्ताहरुले विवाद अघिल्लो पटक देखिनै गरेका थिए । प्रधानन्यायाधीशले यो मुद्दालाई संवैधानिक इजलासबाट अयन्त्र सार्न अस्वीकार गरे। र, कानुन व्यवसायीहरुले त्यसलाई स्वीकार गरेर बहस अघि बढाए। अन्ततः यो मुद्दामा लगातार सुनुवाइ गरेर फागुन ११ गते सर्वोच्चले प्रतिनिधि सभा विघटनको निर्णय बदर हुने फैसला सुनाएको थियो ।

त्यो फैसलाको तीन महिना नबित्दै प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेकी हुन् । यसपटकको विवाद भने पहिलेभन्दा अलि फरक रुपमा सर्वोच्च पुग्यो । यसपटक प्रतिनिधि सभाका बहुमत (१४६ जना) सांसदहरु नै सर्वोच्च पुगेका छन् । अघिल्लो पटक नेकपाको एक पक्षमात्र सर्वोच्च पुग्दा विपक्षी दलहरु किन नआएको भन्ने प्रश्न उठेको थियो । यसपटक प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बहुमत सांसद सर्वोच्च पुगेसँगै प्रतिनिधि सभा विघटनसँग सम्बन्धित कूल ३० वटा निवेदन सर्वोच्चमा पुगे । तीमध्ये चार निवेदनमा ओलीलालाई प्रधानमन्त्री नियुक्त गर्न माग गरिएको छ ।