विवादित न्यायाधीशलाई समेत राखेर गठन भयो संवैधानिक इजलास

काठमाडौँ । प्रतिनिधि सभा विघटनका रिट सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले दुई नयाँ न्यायाधीश राखेर संवैधानिक इजलास गठन गरेका छन् । उनले इजलासमा दुईजना पुरानै विवादित न्यायाधीशलाई समेत राखेका छन् ।

प्रधानन्यायाधीश राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई इजलासमा रहेका छन् । वरिष्ठतामा अगाडि रहे पनि पहिलोपटकको विघटन रिटकै बेला विवादित भएकाले हरिकृष्ण कार्की इजलासमा रहेका छैनन् । रिट निवेदक कानुन व्यवसायीहरुले निष्पक्षतामा प्रश्न उठाएपछि उनले आफै इजलासमा नबस्ने घोषणा गरेका थिए ।

त्यस्तै वरिष्ठ न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ बिरामी छन् । तीबाहेक राणाले वरिष्ठताका आधारमा अगाडि रहेका न्यायाधीशलाई इजलासमा राखेका छन् ।

दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले यसअघि नै रिटका सन्दर्भमा आफ्नो राय व्यक्त गरिसकेका छन् । उनीहरुले दिएको संयुक्त लिखित रायमा हालको प्रतिनिधि सभा विघटन पनि नेकपा विवादसँगै जोडिएको ठहर गरिएको छ । यति मात्र नभई आफ्नो व्यावसायिक सीमा नाघेर सहकर्मी न्यायाधीशहरुमाथि पनि उनीहरुले लाञ्छना लगाएका छन् । फेरि उनैलाई इजलासमा राखेकाले नयाँ इजलास पनि विवादमुक्त हुने छैन ।