अविश्वासको प्रस्ताव ल्याएर प्रधानमन्त्रीलाई हटाउन उपप्रधानमन्त्री पोखरेलको चूनौती

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् ।

अनेरास्ववियूले शुक्रबार काठमाडौंको आरआर क्याम्पसमा आयोजना गरेको भेलामा उनले कसैले भन्दैमा जनताले बिश्वास गरेको प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताएका हुन् ।

उनले प्रधानमन्त्री संसदीय सर्वोच्चता स्वीकार्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने धारणा राखे । उनले हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउन चूनौति दिए । केपी ओली लोकतन्त्र, संस्थागत गरिने निर्णयमा विश्वास गर्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने उनले उल्लेख गरे ।

पोखरेलले कम्युनिस्ट पार्टी हिजोझैँ ‘चल्ते, चलाते’ ढङ्गले सञ्चालन नहुने जिकिर गरे । नयाँ कम्युनिस्ट पार्टीमा युवाहरू हुने र दशकौँदेखि पार्टी सत्ता कब्जा गरेकाहरू नहुने, फोहोरमैलाहरू सफा हुने पनि उनले बताए । उनले ढाडमा टेकेर टाउकोमा हान्न पल्केकाहरुलाई पराजित गर्दै पार्टीलाई मजबुद्ध ढंगले अघि बढाइने धारणा राखे ।

कार्यक्रममा नेकपा ओली पक्षका नेता एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले संसद पुनःस्थापना भएपछि खुसी भएर लड्डु बाड्नुको कुनै अर्थ नरहेको बताए । उनले संसदमा होस् वा निर्वाचनमा दुवैतिर लड्न आफूहरु तयार भएको दाबी गरे ।

कार्यक्रममा सो पक्षका नेताहरुले अव संसदबाट डटेर अघि बढ्ने र मुलुकलाई लोकतन्त्रको बाटोमा अघि बढाइने बताएका थिए ।