ओलीले संसद विघटन गरेर जनमतको अपमान गरे : उपसभापति निधि

धनुषा । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले लोकतन्त्र र संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेको बताएका छन् ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर–२ दुहवीमा नेपाली कांग्रेसको वडा पार्टी कार्यालयको  उद्घाटन गर्दै निधिले प्रतिनिधिसभा रहे मात्रै लाेकतन्त्र र संविधानकाे रक्षा हुने हुँदा कुनैपनि हालतमा प्रतिनिधिसभा आवश्यक रहेको बताए।

वर्तमान परिस्थितिको समाधान प्रतिनिधिसभा रहेको जिकिर गर्दै निधिले संसद पुनःस्थापना र निर्वाचनकै माध्यमले प्रतिनिधिसभाको स्थापना गर्नु दुबै विकल्पका लागि  कांग्रेस तयार हुनुपर्ने समेत बताए।उनले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर जनताको जनादेश एवं मतदाताको मतको अपमान गरेको जिकिर समेत गरे ।

 उनले भने,‘संसद पुनस्र्थापना भए पार्टीको १४ औं महाधिवेशन पहिले हुन्छ । तर, निर्वाचन पहिले भए महाधिवेशन पछि हुनेछ ।’ उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयन नै कांग्रेसको मुख्य एजेण्डा रहेको बताए ।