प्रधानन्यायाधीशले नमान्दा संवैधानिक परिषद्को बैठक रोकियो

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको असहमतिका कारण संवैधानिक परिषद्को बैठक अनिश्चित भएकाे छ ।

प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा चलिरहेका बेला सोही मुद्दाका पक्ष रहेका प्रधानमन्त्रीले बोलाएको बैठकमा उपस्थित हुन नमिल्ने जवाफ दिएका कारण परिषद्को बैठक अनिश्चत भएको बुझिएकाे छ।प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारलाइ बैठक बाेलाएका थिए ।

सरकारले संवैधानिक अायाेगहरूमा गरेकाे नियुक्तिकाे सिफारिसलाइ सभामुख अग्नि सापकोटाले सोमबार परिषद्मै फिर्ता पठाइदिएपछि प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठककाे तयारी गरेका हुन् ।

सभामुखले पत्र फिर्ता पठाएपछि प्रधानमन्त्री ओलीले त्यसलाई बेवास्ता गर्दै सुनुवाइको म्याद ४५ दिन गुज्रेकाले उनीहरूलाई नियुक्त गर्नु भनी राष्ट्रपतिसमक्ष सिफारिस पठाउन संवैधानिक परिषद्को बैठक डाकेकाे बुझिएकाे छ ।

गत पुस ५ गते संवैधानिक परिषद्ले विभिन्न ११ वटा संवैधानिक आयोगहरुमा ३८ जना पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो ।सरकारले संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेर बहुमतबाट पनि निर्णय गर्न सकिने अध्यादेश ल्याइसकेको छ ।