नेकपाको आधिकारिकता दाबी गर्न दाहाल नेपाल समूह निर्वाचन आयोग जादै

काठमाडौं पार्टीको आधिकारिकता दाबी गर्न नेकपाको पुष्पकमल दाहाल माधवकुमार नेपाल समूह आज निर्वाचन आयोग जाने भएको छ ।

सोमबार बसेको केन्द्रीय समिति बै‍ठकले पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा जाने निर्णय गरेको थियो । त्यही निर्णय अनुरुप आज बिहान ११ बजे पार्टीको आधिकारिकता दाबी गर्ने पत्र लिएर आफूहरू आयोगमा जान लागेको स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।आयोगमा आफूसहित नेताहरू सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डे आयोगमा जाने पोखरेलले जानकारी दिए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको दाहाल नेपाल समूह०को सोमबार बसेको केन्द्रीय समितिले गरेको थियो । बहुमत केन्द्रीय सदस्यहरू आफूसँगै रहेको भन्दै यो समूहले आफूले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ । समूहको सोमबारको बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहनेगरी हटाएको थियो । समूहले यसअघि नै ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ ।