नेकपालाई कसैले आँखा लगाउन र औलो ठड्याउन पाउँदैन : माधव नेपाल

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले नेकपा बिभाजित नभएको स्पष्ट पारेका छन् ।

काठमाडौंमा सोमबार बसेको नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले केन्द्रीय कमिटी र स्थायी कमिटीमा आफुहरुको बहुमत रहेकोले अर्को पक्ष चोटिएर गएको बताए ।नेकपा आफुहरुको भएको भन्दै कसैले आँखा लगाउन र औलो ठड्याउन नपाउने उनको भनाइ छ ।

उनले बिधानको व्यवस्था बमोजिम नै पार्टीको बैठक बसेकाले निर्वाचन आयोगले आफुहरुलाई नै आधिकारिता दिनुपर्ने धारणा राखे ।

अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली समूहसँग एक चौथाइ पनि केन्द्रीय सदस्य नभएको अवस्थामा नेकपाको चिन्हमा अरु कसैले दावी गर्न नमिल्ने उनले बताए ।

अध्यक्ष नेपालले सरकार र पार्टीमा ओलीको एकाधिकार मानसिकता देखिएका कारण आफुहरुले कारवाही गरेको तर्क गरे । ओलीले सहमति कार्यान्वयन नगरेको, गुटबादी सोच हावी भएको, बैठक बोलाउन नमानेको र संघीयताबिरोधी सोच राखेकै कारण अहिलेको अवस्था आएको नेपालको भनाई थियो ।

नेपालले संविधान मिचेर संसद बिघटन गरिएकाले नै नेकपामात्र नभई आम सर्वसाधारणहरु पनि आन्दोलीत हुन पुगेको उल्लेख गरे। उनले निर्वाचन घोषणा गरेपछि तोकिएको समयमा ओलीले नै निर्वाचन गर्न नसक्ने तर्क गरे ।