संविधान ठीक ठाँउमा भएपछि मात्रै कांग्रेस चुनावमा जाने : नेता रिजाल

काठमाडाैं ।नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले संसद विघटनको मुद्धामा सर्बोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् ।

पञ्चायतको कालो दिनमा पनि अदालतले न्याय दिएको स्मरण गर्दै उनले संसद बिघटनको मुद्धामा सर्बोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरेका हुन् ।

आइतबार रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश बुटवलले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अपव्याख्या गर्दै निर्वाचनको नाटक गरेको उल्लेख गर्दै सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको जिकिर गरे।

अहिले संविधान नै ठिक ठाँउमा नराखेको भन्दै उनले चुनावको कुनै अर्थ नहुने बताए। रिजालले संविधान ठिक ठाँउमा भएपछि मात्रै कांग्रेस चुनावमा जाने जानकारी दिए ।

लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असवैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने बताए।